चीनका केही स्थानमा बालबालिकालाई विद्यालय पठाउन अभिभावकले कोरोना खोप लगाउनुपर्ने

एजेन्सी । चीनका केही स्थानीय सरकारले अभिभावकले कोरोना खोप नलगाए विद्यार्थीलाई विद्यालय प्रवेश गर्न नदिने योजना ल्याएका छन् । आगामी सेप्टेम्बरमा परिवारका सबै सदस्यले कोरोना खोप नलगाए उक्त परिवारको विद्यार्थीलाई विद्यालयमा प्रवेशको अनुमति नदिने योजना अघि सारिएको हो ।

त्यस्तै केही शहरमा अस्पताल र सुपरमार्केटमा प्रवेशका लागि पनि कोरोना खोप अनिवार्य गर्ने तयारी गरिएको छ ।

अन्तर्र्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनले यस वर्षको अन्तिमसम्ममा आफ्ना ६४ प्रतिशत नागरिकलाई कोरोना खोप दिने योजनाअनुसार यस्तो कदम चालिएको हो । यसअघि फ्रान्स र ग्रीसले पनि जोखिम भएका स्थलमा जानका लागि कोरोना खोप अनिवार्य गर्ने बताएका थिए ।

‘खोप नलगाएका मानिसहरुले आफ्ना बच्चालाई पुनः स्कुल पठाउनमा कुनै अवरोध नहोस् भन्नका लागि छिट्टै नै कोरोना खोप लिनुपर्छ,’ गुआन्सी प्रान्तको बेइलिउ शहरले सार्वजनिक गरेको एक सूचनामा उल्लेख गरिएको छ ।

यो नियम सबै उमेर समूहका विद्यार्थीलाई लागू हुने बताइएको छ । त्यस्तै जियाङसी र हेनान प्रान्तका स्थानीय सरकारले पनि खोप नलगाएका अभिभावकका बच्चालाई विद्यालयमा प्रवेश नदिइने बताएका छन् ।

अर्को चिनियाँ प्रान्त हेबेईमा भने १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई पूरा डोज खोप नलिई विद्यालयमा नआउन सूचना जारी गरिएको छ । साङ्सी प्रान्तको हाङचेङमा खोप नलगाएका मानिसहरुलाई होटल, रेष्टुरेन्ट र मनोरञ्जन स्थलहरुमा अनुमति नदिने नियम ल्याइएको छ ।

चीनका विभिन्न शहरहरुमा खोप नलगाएकालाई खोप लिनका लागि दिइएको डेडलाइन फरक फरक छ तर अधिकांशले भने जुलाईको अन्तिमलाई डेडलाइट दिएका छन् ।

चीनले अहिलेसम्म एक अर्ब ४० करोड डोज कोरोना खोप मानिसहरुलाई दिइसकेको छ । यद्यपि उसले कति प्रतिशत मानिसले पहिलो र कतिले दोस्रो डोज पनि लिए भन्ने खुलाएको भने छैन ।

१,श्रावण.२०७८,शुक्रबार १४:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्