अमरेशकुमार सिंहलाई कारबाही गर्न पठाए देउवालाई पत्र सर्लाहीका १२ नेताले

काठमाडाै‌ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद अमरेशकुमार सिंहलाई कारबाहीको माग गर्दै उनकै गृह जिल्ला सर्लाहीका १२ जना नेताले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका छन्।

सिंहले सर्लाहीमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै बुधबार साँझ बालुवाटार पुगेर देउवालाई सांसद पदबाट राजीनामा बुझाएका थिए। संसदीय दलका नेता देउवालाई उनले राजीनामा पत्र दिएका हुन्। सांसदले राजीनामा सभामुखलाई बुझाउने व्यवस्था छ। सिंहले माग पूरा नभए सभामुखलाई राजीनामा दिने चेतावनी दिइरहेका छन्।

सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सिंहले पार्टीविरूद्ध काम गरेको आरोप लगाउँदै प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंह, उपेन्द्रप्रसाद कुशवाहालगायत सर्लाहीका १२ नेताले देउवालाई बिहीबार पत्र पठाएका छन्। सिंहले नै रामगोविन्द रायलाई पार्टी कार्यालयमा आमरण अनसनमा राखेको आरोप छ। सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको विरोधमा राय आमरण अनसनमा छन्।

‘पार्टी विरोधी र पार्टी संगठनलाई कमजोर गर्ने कार्यमा संलग्न अमरेशकुमार सिंहलाई कारबाही नभए हामी नै राजीनामा दिन बाध्य हुने जानकारी गराउँछौं,’ सर्लाहीका १२ नेताले देउवालाई पठाएको पत्रमा उल्लेख छ। सिंहको जालझेलबाट सर्लाहीका जनता आतंकित भएको पनि उनीहरूको दाबी छ।

सिंहले इमान्दार कार्यकर्तालाई क्रिायशील नदिएर समायोजनका नाममा ठेकेदारहरूलाई क्रियाशील दिइएकोमा आफ्नो विरोध रहेको बताउँदै आएका छन्।

८,श्रावण.२०७८,शुक्रबार ०८:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्