देउवाबारे सामाजिक सञ्जालमा भिडिओ राख्न बन्द गरौं: कांग्रेस महामन्त्री खड्का

काठमाडाै‌ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाबारे बनाइएका भिडिओ सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेका छन्।

सभापति देउवाको सचिवालयले १४ औं महाधिवेशन तयारी भन्दै देउवाका गुणगान गाइएका भिडिओ एकपछि अर्को गर्दै पोस्ट गरेपछि आलोचना भइरहेको छ।

महामन्त्री खड्काले जनताका बीचमा स्थापित नेता तथा प्रधानमन्त्री देउवाको भिडिओ बनाएर सामाजिक सञ्जालमा राखिने गरेकोमा बन्द गर्न आग्रह गरेका छन्।

‘जीवनको हरेक क्षण देश, जनता र लोकतन्त्रका लागि समर्पण गरी जनताका बीचमा स्थापित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका बारेमा सामाजिक सञ्जालमार्फत् सुरू गरिएको भिडिओ गाईजात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई विशेष अनुरोध गर्दछु,’ बिहीबार ट्वीट गर्दै खड्काले भनेका छन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि अहिले राम्रो काम गर्ने बेला भएको बताएका छन्।

राम्रो काम गरे जनताले नै भिडिओ बनाउने शर्मा बताउँछन्।

शर्माले प्रधानमन्त्रीको सचिवालयलाई यस्ता भिडिओ पोस्ट नगर्न ध्यानाकर्षणसमेत गरिसकेको बताएका छन्।

२२,श्रावण.२०७८,शुक्रबार ०७:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्