‘द वे होम’ सहरीया नाति र गाउँले हजुरआमाबीचको कोमल कथा भन्ने कोरियाली फिल्म हो। सहरमा हुर्केका साङ वोलाई आफ्नी हजुरआमा र हजुरआमाको गाउँप्रति कुनै आकर्षण हुँदैन। बालक साङ र उनकी आमाबीचको यही गाउँ जाने कुरामा द्वन्द्व भइरहेको दृश्यसँगै फिल्म सुरू हुन्छ।
साङ आमाको करकापमा परेर हजुरआमाको गाउँ गइरहेका छन्। यात्राभर असन्तुष्ट उनी हजुरआमा भेट्दा अभिवादनसमेत गर्दैनन्। साङकी आमा दक्षिण कोरियाको राजधानी सहर सिओलमा कामको खोजीमा हुन्छिन्। श्रीमानसँग छुटिइसकेकी साङकी आमाको जीवनमा धेरै कुराको तालमेल मिलिरहेको हुँदैन।
काम नभेटुन्जेलसम्मका लागि छोरालाई आफ्नी आमाको जिम्मा सुम्पेर उनी त्यही दिन फर्किन्छिन्। ७६ वर्षीया हजुरआमा बोल्न सक्दिनन्। एक्लै बस्ने उनको ढाड कुप्रो परिसकेको छ। तर उनले नाति आएको खुसी मनाउन पाउँदिनन्।
गाउँ पुगेपछि झनै निराश भएका साङलाई हजुरआमाको ठाउँ थोत्रो र फोहोर लाग्छ। हजुरआमालाई उनी पागलसम्म भन्छन्। जति नै उपेक्षा र अपमानजनक व्यवहार देखाए पनि आफ्नो नातिप्रति उनको माया र व्यवहारमा कमी आउँदैन।
सहरमा पिज्जा, बर्गर र फास्ट फुड खाएर हुर्केका साङले मासुको परिकार खाने इच्छा देखाउँदा हजुरआमा पानीमा भिजेर कुखुरा लिएर आउँछिन्। बिरामी नै पर्छिन्। ट्वाइलेट जानेबेलामा होस् वा जुत्ता किन्दिने कुरामा, फिल्ममा यस्ता धेरै दृश्य छन्, जहाँ हजुरआमाको नातिप्रतिको निःस्वार्थ प्रेम झल्किइरहन्छ।
सिनेमाको सुरूको चरणमा नातिमा भने हजुरआमाप्रति कुनै माया देखिँदैन। उनी हजुरआमासँग नभएर भिडिओ गेममा बढी भुलिन्छन्। एक दिन भिडिओ गेमको ब्याट्री सकिन्छ। साङले हजुरआमालाई नयाँ ब्याट्री किनिदिन भन्छन्, हजुरआमासँग पैसा हुँदैन।
सहरमा हुर्केका केटाकेटीले मोबाइल वा भिडिओ गेम चलाउन नपाउँदाको छटपटी त्यसपछिको दृश्यमा देखाइएको छ। गाउँमा आफू नयाँ भए पनि साङले हजुरआमाको चाँदीको कुरुससँग ब्याट्री साट्न कसरी भौंतारिन्छन्, हेर्न लायक छ। उनी हजुरआमाको चप्पल फाल्नेदेखि भाँडा फुटाउनेसम्म गर्छन्।
साङमा देखिनेल यस्तो चिड्चिडाहट अहिलेको समयमा हुर्किरहेका कोरियाली बालबालिकाको मात्र स्वभाव होइन। उनीजस्ता नेपाली बालबालिका तपाईं हाम्रा घरमा सजिलै भेटिन सक्छन्। अनि नातिका तमाम दुर्गुण नजरअन्दाज गरेर एकनास प्रेम गर्ने हजुरआमाको कथा पनि कोरियाली मात्र होइन।
त्यसैले होला द वे होमकी हजुरआमा सुदूर नेपालको अनकन्टारमा एक्लै जीवन बिताइरहेका धेरै वृद्धवृद्धाको कथा जस्तो पनि लाग्छ। हजुरआमा र नातिको यो कथामा गाउँ र सहरमा हुर्कने बालबालिकाको सोच, जीवनशैली र व्यवहार तुलना गर्न सकिने दृश्य धेरै छन्।
गाउँमा भएका बालबालिकाभन्दा साङ फरक छन्। उनी समूहमाभन्दा एक्लै खेल्न रुचाउँछन्। हजुरआमा मात्र नभई गाउँका समकालीन केटाकेटीसँग घुलमिल हुन सक्दैनन्।
हजुरआमाको संगत र ग्रामीण जीवनशैलीले उनको जीवनमा केही फरक पार्ला?
उनी गाउँबाट फर्कने बेला पहिलाजस्तै रहलान् वा अर्कै साङ बनेर फर्केलान्?
यसपछिका घटनाक्रमले दर्शकमा आउने यही जिज्ञासाको जवाफ दिनेछ।
चाहेर पनि बोल्न नसक्ने हजुरआमा र सुसेल्दै हिँड्ने चञ्चल नातिबीचको केमेस्ट्री आकर्षक छ। यसमा हजुरआमा बन्ने कलाकार किम उल बोन कहिल्यै सिनेमामा देखिएकी थिइनन्। नातिको भूमिका निर्वाह गर्ने यो सोङ हो भने हाल सफल अभिनेता बनिसकेका छन्।
खाली घर, खाली बाटो र सुनसान गाउँको कथा भन्ने यो फिल्मको सलल बग्छ। थोरै बजेट, सीमित पात्र, सामान्य घटनाक्रमका साथ अघि बढ्ने कथाले पार्ने प्रभाव भने गहिरो छ।
यस पटकको ओस्कारमा कोरियाली कथा ‘मिनारी’बाट यु जोङ उनले उत्कृष्ट सहअभिनेत्रीको पुरस्कार जित्न सफल भएकी थिइन्। मिनारीमा चित्रित हजुरआमा र नातिबीचको पुस्तागत खाडल र द वे होममा देखाइएको हजुरआमा नाति सम्बन्धमा धेरै समानता भेटिन्छ।
यी दुई फिल्मको टुक्रिरहेको पारिवारिक सम्बन्धसँगै बसाइसराइले कोरियाली समाजमा पारेका प्रभावको तुलनायोग्य कथा भन्छ। बालमनोविज्ञान र वृद्धावस्थाको जटिल भोगाइलाई एकैसाथ चित्रण गर्न सफल यो फिल्म ली जियोङ ह्याङको निर्देशनमा बनेको हो।
कोरियाली समाजको जरा समातेकाले होला, सन् २००२ मा सार्वजनिक ‘द वे होम’ले बक्स अफिसमा तहल्का मच्चाएको थियो। उक्त साल कोरियामा सबभन्दा बढी कमाउने दोस्रो फिल्म बनेको थियो यो। यसले करिब साढे दुई करोड अमेरिकी डलर कमाएको थियो।
त्यस्तै कोरियाको ठूलो मानिने ‘ग्रान्ड बेल अवार्ड’मा बेस्ट फिल्म र बेस्ट स्क्रिनप्लेको अवार्डसमेत जितेको थियो।
प्रतिक्रिया दिनुहोस्