राप्रपाले बाढीबाट विस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट विस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी निवास बालुवाटारमा भेटेर राप्रपाका अध्यक्ष पशुपति शेमशेर राणासहितका नेताहरुले बाढीबाट विस्थापित भएकाहरुलाई तत्काल सुरक्षित बाससहित राहतको व्यवस्था गर्न माग गरेका हुन् ।

बाढीबाट दुःख र पीडा भोगेर बसेका त्यहाँका स्थानीयलाई सुरक्षित बासको व्यवस्था मिलाउन प्रधानमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराइएको अध्यक्ष राणाले जानकारी दिए ।

राप्रपाले बाढीबाट मृत्यु भएका र बेपत्ता भएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी बाढीले बगाएको स्थानीय पुल, सडक, विद्युत, खानेपानीलगायतका स्थानीय पूर्वाधार पुनर्निर्माण गर्न पनि ढिलाइ नगर्न सरकारलाई सचेत गराएको छ ।

राप्रपाले बाढीको कटानबाट मेलम्ची र त्यस वरपरको खेतीयोग्य जमीन जोगाउनका लागि तत्काल तटबन्ध निर्माण गरिदिन पनि सरकारसँग अनुरोध छ ।

अध्यक्ष राणाले सरकारले बाढीग्रस्त क्षेत्रका नागरिकलाई छिट्टै उचित राहतको व्यवस्था गर्ने विश्वाससमेत व्यक्त गरे ।

२३,श्रावण.२०७८,शनिबार १२:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्