नगरपालिकाले ब्याजमा अनुदान दिएपछि पाल्पा रामपुरका कृषक उत्साहित

पाल्पा । समसुदिन मियाँ पाल्पा रामपुरको बेझाड बजारका सफल साउण्ड सिस्टम व्यवसायी हुन् । यो व्यवसायमा लामो समयदेखि अनुभव लिएका मियाँको अहिलेको दिनचर्या भने हाँसपालनमा बित्ने गरेको छ ।

रामपुर नगरपालिकाले कृषि उद्यम गर्न इच्छुक युवालाई ब्याज अनुदान उपलब्ध गराउन थालेपछि बैंकबाट १२ लाख ऋण झिकेर हाँसपालन शुरु गरेका छन् ।

‘कोरोनाको असरले अहिले साउण्ड सिस्टमको व्यापार छैन, नगरपालिकाको सहयोगमा हाँसपालन शुरु गरेको छु,’ उनले भने, ‘दुई वर्षसम्मको ब्याज पनि तिर्नु नपर्दो रहेछ, नगरपालिकाले युवा लक्षित ब्याज अनुदान कार्यक्रम ल्याएपछि हाँसपालन शुरु गरेको हुँ ।’

उनको फार्ममा हाल माउ र चल्ला गरी करीब ५०० हाँस छन् । हाँससँगै उनले स्थानीय जातको ४०० कुखुरा पाल्ने तयारी गरेका छन् । गत वर्ष ४५० हाँस बिक्री गरिसकेका त्यस्तै विनोद श्रेष्ठले पनि गाईभैंसीपालनलाई विस्तार गरेका छन् । नगरपालिकाको १० लाख बराबरको ब्याज अनुदानमा उनले गाईभैंसीपालनलाई विस्तार गरेका हुन् । नगरपालिकाले ब्याज अनुदानमा रकम उपलब्ध गराउन थालेपछि कृषि तथा पशुपालन व्यवसायमा लाग्ने युवालाई प्रेरणा मिलेको उनको भनाइ छ ।

‘दुई वर्षसम्म बैंकबाट झिकेको ऋणको ब्याज नगरपालिकाले बुझाइदिने भएपछि व्यवसाय गर्न धेरै राहत पुगेको छ,’ उनले भने, ‘ब्याज बुझाउनु नपरेपछि ऋणको भार कृषकलाई कम परेको छ ।’ उनको फार्ममा हाल आठ भैंसी र सात गाई छन् । यस कार्यक्रमले युवालाई गाउँमै बसेर कृषि उद्यम गर्न आकर्षित बनाएको श्रेष्ठको अनुभव छ ।

यस्तै स्थानीयवासी बलबहादुर घर्तीले पनि दुई वर्षसम्मको ब्याज नगरपालिकाले तिरिदिने भएपछि कृषि विकास बैंकबाट १० लाख कर्जा लिए । उनले सो रकम बंगुरपालनमा लगानी गरेका छन् । दुई वर्षदेखि बंगुरपालन व्यवसाय गरिरहेका घर्तीको फार्ममा हाल १० माउ र ५५ बंगुरका पाठापाठी छन् । व्यवसायबाट गरेको आम्दानी बैंकबाट झिकेको ऋणको ब्याज बुझाउनुपर्दा कतिपयले आम्दानी नै लिन नसक्ने अवस्था पनि छ ।

महिनैपिच्छे बैंकमा ब्याज बुझाउने समस्याका कारण कृषकले लगानी र मेहेनत अनुसारको प्रतिफल लिन नसकिरहेको अवस्थामा यस कार्यक्रमले ब्याज बुझाउनुपर्ने झन्झट हटेको कृषक कृष्णकुमार अर्यालले बताए । उनले भैंसीपालनका लागि नगरपालिकाबाट १० लाख रुपैयाँ ब्याज अनुदान कर्जा लिएका छन् ।

‘बैंकबाट ऋण झिकेर व्यवसायमा लगानी गरियो, समयमा ब्याज बुझाउन नसक्दा किसानलाई तनाव हुन्थ्यो, अब नगरपालिकाले दुई वर्षसम्मको ब्याज तिर्ने भएपछि ब्याज बुझाउन कता दाम खोज्ने भन्ने पिरलो हट्यो,’ अर्यालले भने ।

१२ लाखसम्मको कर्जामा दुई वर्षसम्मको ब्याज पूर्ण अनुदान उपलब्ध गराउने युवा स्वरोजगार कार्यक्रम कार्यविधि तयार गरी आर्थिक वर्ष २०७५/७६ देखि कार्यक्रम सञ्चालनमा ल्याइएको हो । रामपुरका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट युवाले कर्जा लिएर व्यवसाय चलाइरहेका छन् । आव २०७६/७७ मा ३३ युवा उद्यमीले यस कार्यक्रमअन्र्तगत दुई करोड १८ लाख ५५ हजार कर्जा लिएका छन् ।

त्यस्तै आव २०७६/७७ मा दोस्रो चरणमा ११ युवा उद्यमीले यस कार्यक्रमअन्तर्गत ८१ लाख ५० हजार रुपैयाँ कर्जा लिएका छन् । आव २०७७/७८ मा २३ युवा उद्यमीले यस कार्यक्रमअन्तर्गत एक करोड ९२ लाख कर्जा लिएर व्यवसाय चलाएका छन् ।

आव २०७७/७८ को अन्त्यसम्म युवा स्वरोजगार कार्यक्रमअन्तर्गत छनोट भई सम्झौता भएका ६७ युवा उद्यमीले चार करोड ९२ लाख पाँच हजार कर्जा लिई नगरपालिकासँग सम्झौता गरिसकेको र सोहीअनुसार नगरपालिकाले दुई वर्षसम्मको शतप्रतिशत ब्याज अनुदानका रूपमा उपलब्ध गराउने छ । आव २०७७/७८ को पहिलो चौमासिकमा ३५ युवा उद्यमीलाई ११ लाख ब्याज अनुदान उपलब्ध गराइएको छ । आव २०७७/७८ मा पेश भएका प्रस्तावबाट ८६ युवा उद्यमी छनोट गरिएको र दोस्रो चौमासिकमा ३८ युवा उद्यमीलाई पाँच महिनाको ११ लाख ५५ हजार ४११ रकम ब्याज अनुदान उपलब्ध गराइएको छ ।

आव २०७७/७८ को तेस्रो चौमासिकमा ६३ उद्यमीलाई १४ लाख ५१ हजार २३९ रकम उपलब्ध गराइएको छ । गत असार मसान्तसम्ममा युवा स्वरोजगार कार्यक्रमबाट युवा उद्यमीलाई ४२ लाख ५७ हजार ८२३ ब्याज अनुदान उपलब्ध गराइएको युवा स्वरोजगार कार्यक्रम समितिका सदस्य–सचिव तथा कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए ।

‘यस कार्यक्रमले कृषि व्यवसाय दर्ता गर्ने र नयाँ फार्म स्थापना, कृषि तथा पशुपालनको व्यवसायीकरण भएको छ, अनुदान कार्यक्रममा सहभागी युवा उत्साहजनक रूपमा कृषिमा लाग्नुभएको छ,’ पाण्डेयले भने । युवा उद्यमीलाई कृषि तथा अन्य व्यवसाय स्थापना र व्यवसाय वृद्धिको लागि कृषि कर्जामा पूर्ण अनुदानले रामपुर नगरपालिकामा कृषि तथा पशुपक्षीपालन सम्बन्धी फार्म दर्तामा वृद्धि भएको उनले बताए । उनका अनुसार यस कार्यक्रमले युवाको रोजाइ कृषि व्यवसाय बन्न थालेको छ ।

रामपुर नगरपालिकालाई कृषि र पशुपालनबाट आत्मनिर्भर बनाउन र स्थानीय उत्पादनलाई प्राथमिकता दिने, वैदेशिक रोजगारमा जाने युवालाई गाउँमै बसेर काम गर्न प्रेरणा मिलोस् भनेर यो कार्यक्रम शुरु गरिएको हो । यसै आर्थिक वर्षदेखि यस कार्यक्रममा समावेश भएका युवालाई कृषिमा प्रोत्साहन गर्दै १२ लाखको कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराउँदै आएकोमा अबदेखि कर्जा थप गरी २० लाखसम्म पु¥याउने नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए ।

तरकारी, फलफूल खेती, नर्सरी स्थापना वा नवीन कृषि प्रविधिको हकमा व्यक्तिगत रुपमा कम्तीमा दुई रोपनी वा सामूहिक रूपमा १० रोपनीमा खेती गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । कुखुरापालनका लागि व्यक्तिगत कम्तीमा ५०० कुखुरा र सामूहिक कम्तीमा तीन हजार कुखुरा (लेयर्स जातको हकमा दुई हजार) पाल्ने योजनासहित कुखुरा अट्ने भौतिक संरचना भएको वा सोही संरचना बन्ने जग्गा हुनुपर्नेछ ।

माछा पोखरीको हकमा व्यक्तिगत दुई रोपनी र सामूहिक १० रोपनीमा हालसालै निर्माण भएको वा निर्माण गर्न सक्ने जग्गा हुनुपर्नेछ । बाख्रापालनको हकमा व्यक्तिगत १० माउ र सामूहिक १०० वटा बाख्रापालन गर्नुपर्ने, मौरीपालनका लागि व्यक्तिगत २० घार र सामूहिक १०० घार हुनुपर्ने, च्याउखेतीमा व्यक्तिगत तीन डुमहाउस र सामूहिक १० डुमहाउस, बंगुरपालनमा व्यक्तिगत पाँच माउ र सामूहिक २५ माउ हुनुपर्नेछ । यस्तै गाईभैंसीमा व्यक्तिगत पाँच माउ र सामूहिक २० माउ हुनुपर्नेछ । यस कार्यक्रमम २१ वर्ष उमेर पूरा भई ५० वर्षभित्रका व्यक्तिलाई मात्र समावेश गरिएको छ ।

२९,श्रावण.२०७८,शुक्रबार १५:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्