झ्याप्प झ्याप्प बत्ती जाने गरेको गुनासो, कुलमानले थाले छलफल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन पहल थालेको छ ।

विना जानकारी झ्याप्प झ्याप्प बत्ती जाने गरेको, नयाँ वत्ति जडानका लागि मिटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउने जस्ता गुनासो आउन थालेपछि यस्ता समस्या समाधान गरी सेवा प्रवाहमा सुधार ल्याउन प्राधिकरण व्यवस्थापनले पहल सुरु गरेको हो । प्राधिकरणले विद्युत आपूर्तिलाई नियमित, भरपर्दो तथा गुणस्तरीय र सेवा प्रवाहलाई छिटो, छरितो एवं सहज बनाउने जनाएको छ ।

प्राधिकरणका कार्यकारी कुलमान घिसिङले सोमबार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, ७ वटै प्रादेशिक कार्यालयहरु, प्रदेश डिभिजन कार्यालयहरु र शाखाका प्रमुखहरुसँग भर्जुअल बैठक राखी कार्यालयहरूले बेहोरिरहेका समस्याहरुका बारेमा छलफल गरी गुणस्तरीय विद्युत आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन कायम गर्न कठोर बन्न निर्देशन दिएका छन् ।

‘छिनछिनमा वत्ति जाने गरेको, गुनासो गर्दा नो लाइटमा फोन नउठ्ने, गुनासो सम्बोधन नहुनेजस्ता गुनासो मलाई मात्रै हैन ऊर्जा मन्त्रीकोमा समेत आउने गरेको छ यस्ता गुनासोलाई तत्काल समाधान गरी उपभोक्तालाई नियमित, गुणस्तरीय, भरपर्दो विद्युत् आपूर्ति र सेवा प्रवाह सुधारमा केन्द्रित हुनुपर्छ,’ उनले भने,‘संस्थाभित्रको सुशासन कायम गरी ग्राहकलाई दिने सेवा सुधार गर्न आफैं सुध्रिएर नैतिक आचरण देखाउनु पर्छ, चुहावट नियन्त्रण अभियान रोकिएको छ, स्थानीय तह र प्रशासनसँगको समन्वय र सहकार्यमा यसलाई तत्काल सुरु गर्नुपर्छ ।’

उनले कसैको दबाब र प्रभावमा नपरी उच्च नैतिक आचरण देखाएर जिम्मेवार भई काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

कर्मचारीको आचरण सुधार गरी सुशासन कायम गर्न गलत काम गर्ने कर्मचारीलाई कारबाही, माथिल्लो निकायलाई जानकारी नदिई कार्यालय नछोड्ने, संस्थालाई थप आर्थिक भार पर्ने कुनै पनि गतिविधि नगर्ने जस्ता व्यवस्था प्राधिकरणले गरेको छ ।

सहरी सौन्दर्यलाई बृद्धि गर्न ‘उज्यालो र सफा सहर अभियान’ चलाउने घोषणा गरेको प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरूसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक वत्ति (स्मार्ट लाइट) जडान गर्ने प्रक्रिया सुरु गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ । साथै सफाइ अभियानअन्तर्गत मुख्य तथा सहायक सडकहरुमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरु हटाउने, तारहरुलाई भूमिगत गर्नेलगायतका काम अगाडि बढाउन पनि प्राधिकरणको निर्देशन छ ।

७,भाद्र.२०७८,सोमबार १७:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्