क्रियाशील सदस्यता लागू नगरिए प्रतिकार गर्ने सप्तरी कांग्रेसको चेतावनी

सप्तरी । नेपाली कांग्रेस सप्तरीले सिफारिस गरिएका क्रियाशील सदस्यता नदिइए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र बमोजिम विधिवत क्रियाशील फारम भरेर केन्द्रलाई बुझाएपनि यहाँको फायल नै बन्द गरिएको सप्तरी कांग्रेसका सभापति दिनेश यादवले बताए ।

सभापति यादवले सोमबार सदरमुकाम राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाभित्र करीब ९ हजार नयाँ क्रियाशील सदस्यले पार्टीप्रति आस्था राख्दै त्यस बापतको शूल्क समेत तिरिसकेको अवस्थामा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले स्थगित गरेको बताए ।

क्रियाशील सदस्यता स्थगन गर्दा चार हजारको संख्यामा पार्टी प्रवेश गरेका व्यक्तिलाई ठाउँ दिन नसकिएको र मापदण्ड पनि पूरा नभएको सभापति यादवले बताए । ‘जिल्लामा परिपत्र गरिए अनुसार गाउँपालिकामा ४५ र नगरपालिकाको वडामा ५१ जना क्रियाशील हुनुपर्ने मापदण्ड तोकिएको छ’ उनले भने, ‘तर कुनै वडामा शून्य छ भने कुनैमा त्यो संख्या अपुग छ ।’

जिल्लाका १६४ मध्ये ९१ वडामा यस्तो समस्या देखिएको बताउँदै सभापति यादवले सप्तरी जिल्लामा धेरै ठूलो अन्याय गरेको बताए , ‘कांग्रेस जिल्ला कार्यसमिति यसप्रति घोर भर्त्सना गर्दछ’ उनले भने ।

जिल्लामा क्रियाशील सदस्यता लागू नगरेको खण्डमा कडाभन्दा कडा प्रतिकार गर्ने निर्णय पार्टी जिल्ला समितिले नै गरेको उनले बताए ।

२१,भाद्र.२०७८,सोमबार १३:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्