ओली सरकारको बजेट परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेट परिमार्जनको तयारी थालिएको छ । यसको लागि अर्थमन्त्रालयले प्रतिस्थापन विधेयक सदनमा प्रस्तुत गर्ने भएको छ ।

भदौ २३ वा २४ गतेमध्ये कुनै दिनमा पनि प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत हुने अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमअनुसार बजेटमा आवश्यक संशोधन गर्न लागिएको बताइएको छ । भदौ १० गते मन्त्रालयले अन्य मन्त्रालयका सचिवहरूको बैठक आयोजना गरी प्रतिस्थापन विधेयकका सम्बन्धमा सुझाव संकलनसमेत गरेको थियो ।

देउवा नेतृत्वको सरकारले केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको सामाजिक सुरक्षा भत्ता अगाडि बढाउन स्वीकृति प्रदान गरिसकेको छ । सरकारले बजेटको आकारमा केही संशोधन गर्ने संकेत पनि गरेको छ । यद्यपि सरकारले बजेटमा ठूलो परिवर्तन गर्न सक्ने संभावना भने कम रहेको अर्थविद्हरू बताउँछन् । अर्थमन्त्री जनार्दन शर्मा ओली सरकारले ल्याएका कतिपय लोकप्रिय कार्यक्रम हटाउँदा विरोध हुनसक्ने चिन्तामा समेत छन् ।

कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावमा केही कार्यक्रमहरू थप गर्ने संभावना रहेको छ । यसैगरी, खोप खरिदका लागि बजेट थप गरिने तयारी भएको अर्थमन्त्रालय स्रोतले बतायो । आफ्नो पहिलो प्राथमिकता खोप भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैतभित्र सबै नेपालीलाई खोप लगाइसक्ने घोषणा गरेकाले स्वास्थ्य क्षेत्रमा बजेट बढाउने तयारी गरिएको छ ।

चालु खर्च , सञ्चालनमा रहेको परियोजना खर्च र अनिवार्य दायित्वमा सिर्जना भएका खर्च कटौती गर्ने सुविधा वर्तमान सरकारसँग नरहेको जानकारहरू बताउँछन् । यसैगरी राजस्व बढाउनका लागि अर्थमन्त्री शर्माले आन्तरिक राजस्व विभागलाई निर्देशन नै दिएकाले आन्तरिक राजस्वको स्रोतहरूमा हेरफेरको तयारी समेत गरिएको छ ।

यसैगरी गठबन्धन सरकारले केही आफू अनुकूलका लोकप्रिय कार्यक्रमहरू थप गरी प्रतिस्थापन विधेयकमार्फत बजेटमा समावेश गर्न लागेको छ । सांसद विकास कोषको निरन्तरता पाउने सम्भावना उत्तिकै रहेको मन्त्रालयका एक अधिकारी बताउँछन् ।

२२,भाद्र.२०७८,मंगलवार १५:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्