महालेखाले तीन दिनका लागि रोक्यो तलबभत्ता बाहेक बजेट निकासा

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले बिहीबारदेखि लागू हुने गरी तीन दिनका लागि तलबभत्ता बाहेकका चालु आर्थिक वर्षको बजेटबाट कुनै पनि रकम निकासा नगर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश इकाइ कार्यालयहरुलाई पत्र लेख्दै महालेखाले बिहीबारबाट शनिबारसम्म लागू हुने गरी बजेट निकासा रोक्न भनेको हो ।

पत्रमा भनिएको छ, ‘आर्थिक वर्ष २०७८/७९ को नेपाल सरकारको बजेट निकासा सम्बन्धमा तलब, भत्ता र निवृत्तिभरणबाहेकको कुनै पनि बजेट निकासा बिहीबारदेखि शनिबारसम्म नगराउनु होला ।’

यस अवधिमा निकासाई भई बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धित निकासा माग गर्ने र निकासा गर्ने अधिकारी नै जिम्मेवार हुने समेत महालेखाले जनाएको छ । चालु खर्चतर्फ अनिवार्य दायित्व मानिने तलब, भत्ता, निवृत्तिभरणसहितका खर्च भने रोक्न मिल्दैन ।

किन रोकियो निकासा ?

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार सरकारले बजेट अध्यादेशलाई परिवर्तन गरी प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ । जसले गर्दा अध्यादेश बजेटमा आएका केही कार्यक्रमहरू विधेयकले परिवर्तन गरेको छ ।

यसरी परिवर्तन भएका कार्यक्रम बजेट पास भएपछि कार्यान्वयनमा जान सक्दैनन् । त्यसैले यो समयमा निकासा भएको बजेट खर्च नहुने अवस्था सिर्जना हुन्छ । उक्त परिस्थितिलाई मध्यनजर गर्दै तत्कालका लागि अनिवार्य दायित्वबाहेकका सबै निकासा रोकिएको उनले बताए । ‘अहिले निकासा रोक्ने अरु कारण छैन’, उनले भने, ‘प्रतिस्थापन विधेयकको तयारी भइरहेकाले खर्च व्यविस्थत गर्न खोजिएको हो ।’

अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन विधेयकमार्फत अगाडि बढाउने तयारी सरकारले गरेको छ । सोही अनुसार बुधबारबाट संसद आहृवानसमेत गरिएको छ । तर, प्रमुख प्रतिपक्षर्ी दल एमालेको अवरोधका कारण बुधबार यो विधयेक प्रस्तुत हुन भने सकेन ।

संसदमा सरकार र प्रतिपक्षको टकरावका बीच बजेट के हुन्छ भन्ने अन्यौल भने बढेको छ । सरकारले अघिल्लो सरकारले बीना स्रोत सुनिश्चित राखेका कतिपय आयोजनाको बजेट काटेको बताएको छ । अनुत्पादक क्षेत्रमा गएको बजेटसमेत काटेर विनियोजन चुस्तता कायम गर्न खोजिएको अर्थको भनाइ छ ।

चालु आवका लागि अध्यादेशबाट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बजेट ल्याएको छ । यसमध्ये बुधबारसम्म चालु तर्फ ४० अर्ब ८४ करोड र पुँजिगत तर्फ मात्र २ अर्ब २७ करोड रुपैयाँ खर्च भइसकेको छ । बुधबारसम्म कुल ३.५१ प्रतिशत बजेट खर्च भइसकेको छ ।

२४,भाद्र.२०७८,बिहीबार १२:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्