उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्ने घोषणा सकारात्मक : परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले चालू आर्थिक वर्ष २०७८/७९ को बजेटको स्वागत गरेको छ । परिसंघले विज्ञप्ती निकाल्दै आयात र विप्रेषणमा आधारित अर्थतन्त्रलाई स्वदेशी उत्पादन र आन्तरिक आयमूखी अर्थतन्त्रमा रुपान्तरण गर्ने घोषणा स्वागतयोग्य भएको बताएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेस गरेको प्रतिस्थापन विधेयकले नेपालको औद्योगीकरण र उत्पादनमूलक अर्थतन्त्रको विकासका लागि योगदान पुर्याउने परिसंघको भनाई छ । यस्तै, यो विधेयकले परिसंघले अघि बढाएको’ मेक इन नेपाल– स्वदेशी’ अभियानलाई सहयोग पुग्ने बताइएको छ ।

स्वदेशी उत्पादनको संरक्षण, निर्यातयोग्य एवम् तुलनात्मक लाभका वस्तुहरूको पहिचान र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गरी व्यापार घाटा न्यूनीकरण गर्ने सरकारको घोषणा छ । कच्चा पदार्थदेखि अन्तिम उत्पादनसम्म स्वदेशमै सम्पन्न हुने गरी वस्तु उत्पादन गर्ने उद्योगलाई स्वदेशी उत्पादन अभियानमा सहभागी गराई आवश्यक प्रोत्साहन गर्ने विषयलाई परिसंघले स्वागत गरेको छ ।

बहुआयामिक गरिबी न्यूनीकरण, अर्थतन्त्रको पुनरुत्थान गरी उच्चदरको आर्थिक वृद्धि र समावेशी एवं समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूलभूत उद्देश्य राखिएको विधेयकले अर्थतन्त्र चलायमान बनाउने प्रमुख यन्त्रको रूपमा निजी क्षेत्रलाई लिएको छ । यो घोषणा स्वागतयोग्य भएको परिसंघले बताएको छ ।

विधेयकमा औद्योगिक उत्पादनको लागत कम गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन उच्चस्तरीय सहजीकरण समिति गठन गर्ने व्यवस्थाले नेपालको उत्पादनको लागत कम गर्न नीतिगत सुधारका लागि सहयोग गर्ने परिसंघको बुझाइ छ ।

व्यवसायिक सहजता सूचकमा सुधारका लागि नीतिगत र कानुनी व्यवस्था गर्ने सरकारको घोषणाले नेपालमा सहज व्यावसायिक वातावरण निर्माणमा सहयोग पुग्ने परिसंघले विश्वास लिएको छ ।

२६,भाद्र.२०७८,शनिबार १२:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्