कोरोना संक्रमणको दर घटेसँगै चितवनका अस्पतालहरुका कोभिड वार्डहरु खाली हुन थाले

चितवन । कोरोना संक्रमणको दर घटेसँगै चितवनका अस्पतालहरुका कोभिड वार्डहरु खाली हुन थालेका छन् ।

जिल्लाका अस्पताल र पालिकाहरुले सञ्चालन गरेका आइसोलेसन सेन्टरमा ७१७ वेड छन्, जहाँ वेडमा सोमबार साँझ जम्मा ५१ जना बिरामी रहेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा कोभिडका लागि ११० वेड छुट्याइएको छ, जहाँ ३७ जना बिरामी छन् । ११ जना आइसियू, १५ जना एचडियू र र ११ जना साधारण वेडमा उपचाररत छन् ।

यसैगरी चितवन मेडिकल कलेजमा १३२ वेड छ, नौ जना बरामी रहेका छन् । ५ जना आइसियू र ४ जना एचडियूमा उपचाररत छन् । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा २१० बेडमा एक जना मात्रै बिरामी छन् । उनको आइसियूमा उपचार भइरहेको छ ।

यस्तै १४० वेड कोभिडका लागि छट्याएको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक जना मात्रै बिरामीको साधारण बेडमा उपचार भइरहेको छ । कालिका नगरपालिकामा २ जना र जिल्लाका अन्य निजी अस्पतालमा एक जना कोभिड संक्रमितको उपचार भइरहेको छ । अरु बेडहरु खाली छन् ।

भरतपुर महानगरपालिकाले ३०, माडी नगरपालिकाले १०, रत्ननगर नगरपालिकाले ८, खैरहनी नगरपालिकाले २०, कालिका नगरपालिकाले १२ र इच्छाकामना गाउँपालिकाले २५ वेड अक्सिजन सहितको कोभिड वार्ड तयार गरेका छन् ।

संक्रमित दर १० प्रतिशतभन्दा कम

जिल्लामा कोरोना संक्रमणको दर १० प्रतिशतभन्दा कम छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले संक्रमणको दर, बेड अकुपेन्सी दर, गम्भीर बिरामीको दर र मृत्युदर निकै कम हुँदै गएको बताए । यसले सुखद अवस्थाको संकेत गरे पनि सावधानी भने पर्याप्त अपनाउनुपर्ने बताए ।

जिल्लामा दैनिक ५ सयदेखि ८ सय जनासम्मको पीसीआर परीक्षण हुने गरेको छ । कुनै बेला ११ सयसम्मको परीक्षण हुने गरेको थियो ।

विरामीको चाप हुँदा दुई सिफ्टमा पीसीआर परीक्षणको लागि नमूना संकलन गर्दै आएको चितवन मेडिकल कलेजले अहिले चाप घटेपछि एक सिफ्टमा मात्रै यो सेवा सन्चालन गर्दै आएको छ ।

ग्रामिण क्षेत्रमा गरिने एन्टिजेन परीक्षणबाट कोभिड संक्रमणको दर पनि घटेको स्वास्थ्य कार्यालय प्रमुख तिवारीले बताए । ‘अरु जिल्लाको जस्तो शान्त अझै भएको छैन’ तिवारीले भने, ‘५ सयभन्दा बढी संक्रिय संक्रमित हुँदा सावधानी अपनाउनुपर्छ ।’

असोज १ गतेदेखि विद्यालय खोल्ने कतिपय स्थानीय तहको निर्णय हतारमा भएको उनले टिप्पणी गरे । ‘पहिला ५ सयभन्दा बढी संक्रमित भएपछि लकडाउन गर्ने अवस्था हुन्थ्यो, अत्यास हुन्थ्यो,’ उनले भने, ‘अहिले पनि ५ सयभन्दा बढी संक्रमित छन् । केही सजिलो पक्कै भएको छ तर पुरै खुल्ला हुने अवस्था हैन ।’

चितवन मेडिकल कलेजका प्रमुख प्रशासकिय अधिकृत प्रताप देवकोटाले कोभिडका बिरामी कम भएसँगै अस्पतालको काम सहज भएको बताए । ‘अस्पतालको सम्पूर्ण इफोर्ट कोभिडको उपचार र व्यवस्थापनमा लगाएका थियौं, अहिले अवस्था केही सहज भाएको छ,’ प्रमुख प्रशासकीय अधिकृत देवकोटाले भने, ‘अहिले अस्पतालका अन्य सेवालाई थप व्यवस्थित र सहज कसरी बनाउन सकिन्छ भनेर ध्यान केन्द्रित गर्न फुर्सद मिलेको छ ।’

अहिले सबभन्दा धेरै कोभिडका बिरामी भरतपुर अस्पतालमा (३७ जना) छन् । पहिला दैनिक २० भन्दा बढी संक्रमित भर्ना हुन आउने गरेका थिए, अहिले घटेर २ जनासम्म आउने गरेको अस्पतालका कोभिड को-अर्डिनेटर डा. प्रमोद पौडेलले बताए । संक्रमित बिरामीको संख्या निकै कम भएपछि जनरल वार्डहरुमा रुपान्तरण गरेर ज्वरो तथा अन्य बिरामीहरु राख्न थालिएको उनले बताए ।

चितवनमा कोभिड तथ्यांक

सक्रिय संक्रमित– ७०४
होम आइसोलेसनमा– ६७६
संस्थागत आइसोलेसनमा– २८
पीसीआर परीक्षण– ७८१ (२८ भदौ २०७८)
एन्टिजेन परीक्षण– ७३ (२८ भदौ २०७८)
कूल संक्रमित– २५,२७३
कूल मृतक– ४०५
निको भएर घर फर्किएका– २४,१६४

२९,भाद्र.२०७८,मंगलवार १२:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्