जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले असोज १२ गतेसम्म निषेधाज्ञा बढाइयो

तनहुँ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले निषेधाज्ञा लम्ब्याएको छ । केन्द्रको आज बसेको बैठकले आगामी असोज १२ गतेसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको हो । यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।

कोभिड-१९ को जोखिम अझै कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको केन्द्रका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । निषेधाज्ञा कडाइका साथ पालना गर्न गराउन सबैमा आग्रह गरिएको छ ।

भौतिकरूपमा उपस्थित भई गरिने सभा, सम्मेलन, प्रदर्शन, मेला, जात्रा र महोत्सवमा रोक लगाइएको छ । ‘साधारणसभा, सम्मेलन र अधिवेशन सरकारले कायम गरेको स्वास्थ्य मापदण्ड पालना गरी गर्न सकिने छ’, स्थानीय प्रशासनको आदेशमा उल्लेख छ ।

विद्यालय र क्याम्पसमा पठनपाठनका लागि विद्यालय सिकाइ सहजीकरण निर्देशिका र कोभिड-१९ सङ्क्रमण जोखिम नियन्त्रण कार्यविधि, २०७८ अनुसार विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा स्थानीय तहको निर्णय अनुसार गराउन सकिने आदेशमा भनिएको छ । पार्टी प्यालेस सञ्चालन गर्न स्वास्थ्य मापदण्डको पालना गरी कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी साँझ ६ बजेसम्म अनुमति दिइएको छ ।

३१,भाद्र.२०७८,बिहीबार १५:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्