कर्मचारी सञ्चय कोष ६० वर्षमा, कुल लगानी सवा चार खर्ब

काठमाडौं । कर्मचारी सञ्चय कोषको कुल लगानी सवा चार खर्ब नाघेको छ । कर्मचारी सञ्चय कोष ६० औं वर्ष प्रवेश गरेको अवसरमा सार्वजनिक वित्तीय विवरणमा गत आर्थिक वर्ष २०७७/७८ सम्म कोषको लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको उल्लेख छ ।

कोषले विभिन्न आयोजना, परियोजना तथा संस्थामा ऋण तथा सेयर लगानी गर्छ ।

कोषको कुल स्रोत भने ४ खर्ब ४४ अर्ब ४७ करोड छ । जगेडा कोष तथा बचतमा ४० अर्ब १६ करोड छ । सञ्चयकर्ताको सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ भने निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड रुपैयाँ छ । दायित्व भने ४ अर्ब ६७ करोड रहेको सञ्चय कोषले जनाएको छ ।

सञ्चय कोषले सञ्चित रकममा ६.५० प्रतिशत ब्याज दिन्छ । कोषले आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट सुरु मौज्दातको आधारमा एक प्रतिशत मुनाफा प्रदान गर्ने घोषणा पनि गरेको छ ।

सञ्चयकर्ताले सञ्चय कोषबाट विशेष सापटी, घर सापटी, शैक्षिक ऋण, सरल कर्जा र घर मर्मत सापटी शीर्षकमा ऋण सुविधा पाउँछन् । सञ्चयकर्ताले सञ्चयकोषमा रहेको रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन पाउँछन् । यसको कर्जा अवधि सेवाकालसम्म रहन्छ । जसको ब्याजदर ७.६० प्रतिशत छ ।

घर निर्माण गर्न वा घर खरिदमा अधिकतम एक करोडसम्म ७.९० प्रतिशत ब्याज छ । घर मर्मतमा पनि ७.९० प्रतिशत ब्याजमा ऋण लगानी हुन्छ । ७.९० प्रतिशत ब्याजदरमा शैक्षिक ऋण लिन पाइन्छ भने ८ प्रतिशतमा सरलचक्र कर्जाको सुविधा छ ।

कोषले दुर्घटना क्षतिपूर्ति योजना, काजक्रिया अनुदान खर्च, सुत्केरी तथा शिशु हेरचाह योजना र सञ्चयकर्ता औषधोपचार तथा घातक रोग बीमा योजना गरी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कोषका निमित्त प्रशासक जितेन्द्र धितालका अनुसार ५ लाख ९८ हजार सञ्चयकर्ताको ४ खर्ब ४४ अर्बभन्दा बढी सञ्चय कोष र निवृत्तभरण कोषसहितको वित्तीय स्रोत परिचालन गरी मुलुकको अग्रणी र ठूलो वित्तीय एवम् सामाजिक सुरक्षा प्रदायक संस्थाको हैसियत कायम गर्न सञ्चय कोष सफल भएको बताएका छन् ।

उनले एकीकृत अवकाश कोषको माध्यमबाट कोषलाई सार्वजनिक क्षेत्रको उत्कृष्ट सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । साथै ६० वर्ष पुगेको अवसरमा कोषले आर्थिक अनुशासन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्दै कोषको आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाइ संस्थागत सुशासन कायम गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

३१,भाद्र.२०७८,बिहीबार १०:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्