खोप लगाएकामा ६५ प्रतिशत र नलगाएका ४.७ प्रतिशतमा एन्टीबडी

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाएका ६५ प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टिबडी) पाइएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका १,७९६ जनामा एन्टिबडी अध्ययन गर्दा खोप लगाएका ६५ प्रतिशत र खोप नलगाएका ४.७ प्रतिशतमा एन्टिबडी बनेको पाइएको हो । अनुसन्धानमा सहभागी कुल संख्याको ६१ प्रतिशत (९४१ जना) मा एन्टीबडी देखिएको थियो ।

खोप लगाएका व्यक्तिहरुमा ९४१ (६५ प्रतिशत) जनामा एन्टीबडी देखिएको थियो भने खोप नलगाएका ३८४ सहभागी मध्ये १५३ (४३.९७ प्रतिशत) मा पनि एन्टीबडी देखिएको थियो ।

पहिलो डोज मात्र खोप लगाएकामध्ये ५०५ (५५.१ प्रतिशत) जनामा र दुवै डोज खोप लगाएका मध्ये ४३६ (८२ प्रतिशत) जनामा एन्टीबडी देखिएको थियो । त्यस्तै कोभिड-१९ को संक्रमण पुष्टि नभएकामध्ये ५९.८१ (९०८ जना) मा एन्टीबडी विकसित भएको परिषद्को अनुसन्धानमा उल्लेख छ ।

कोरोना संक्रमण भई निको भएकामध्ये लक्षण नदेखिएका सहभागीहरुको अनुपातमा जटिल लक्षण देखिएका सहभागीहरुमा एन्टीबडी विकसित भएको पाइएको परिषद्को प्रतिवेदनमा उल्लेख छ । खोप लगाएको दिनसँग नमुना संकलनको दिनलाई तुलना गरेर हेर्दा खोप लगाएको दोस्रो महिना पुगेका ८२.३३ प्रतिशत सहभागीहरुमा एन्टीबडी देखिएको थियो ।

तर चौथो महिना पछि ४३.७५ प्रतिशतमा मात्र देखिएको परिषद्ले बताएको छ । त्यस्तै, दीर्घरोगीहरुमा एउटा मात्र दीर्घ रोग भएकामध्ये ७८.९ प्रतिशतमा, दुई वटा दीर्घ रोग भएकामध्ये ७१.६९ प्रतिशतमा तथा तीन वा सो भन्दा बढी दीर्घ रोग भएका ४२.३ प्रतिशतमा एन्टीबडी देखिएको थियो ।

अनुसन्धान कतिमा गरिएको थियो ?

परिषद्का अनुसार यस अध्ययनमा कुल १,७९६ सहभागी गराइएको थियो । जसमध्ये पुरुष ५१.८ प्रतिशत (१,२२७) र महिला ४८.१ प्रतिशत (५७९) थिए भने सहभागीहरुको औसत उमेर ५०.५ वर्ष थियो ।

अनुसन्धानले १५.४ प्रतिशत (२७८) सहभागीहरुमा विगतमा कोभिड-१९ को संक्रमण पाइयो भने कुल सहभागीमध्ये ३७.८ प्रतिशत (६८०) मा दीर्घरोगी थिए । जसमध्ये ६६.६ प्रतिशत (४५३) लाई उच्च रक्तचाप थियो । कुल सहभागीमध्ये खोप लगाएका ८१ प्रतिशत (१४४८) थिए । जसमध्ये कोभिशिल्ड लगाउने ८५.२ प्रतिशत (१२३५), भेरोसेल १४.५ प्रतिशत (२१०) र अन्य खोप लगाउने ०.२ प्रतिशत (३) जना थिए ।

खोप लगाएका तथा नलगाएका व्यक्तिहरूमा एन्टीबडी स्तर मूल्याङ्कन गर्न अध्ययन गरिएको परिषद्ले जनाएको छ ।

परिषद्ले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा जेठ १७ गतेदेखि असार २५ गतेसम्म खोप लगाएका र नलगाएका गरी कुल १७९६ जनाको रगतको नमुना संकलन गरी सीएलआईए विधिमार्फत एन्टीबडीको स्तरको परीक्षण गरेको थियो ।

२२,आश्विन.२०७८,शुक्रबार १७:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्