जनमत संग्रह गरियोस् चुनाव लड्न चाहन्छौं: विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताले चाहेजस्तो शासकीय व्यवस्था हुनुपर्ने बताएका छन्।

‘वैज्ञानिक समाजवाद कि दलाल पूँजीपति वर्गको सत्ता रोज्ने जनमत संग्रह’ हुनुपर्ने माग आफूहरूको रहेको विप्लव बताउँछन्।

‘कांग्रेस र सरकारमा बसेका अन्य पार्टीहरू लोकतन्त्रवादी हुन् भने ल ठिक छ, हामी एकपटक चुनाव लड्न चाहन्छौं,’ उनले भने, ‘संसदीय चुनाव लड्ने होइन। वैज्ञानिक समाजवाद रोज्ने कि दलाल पूँजीपति वर्गको सत्ता रोज्ने एकचोटी जनमत संग्रह गरियोस्, हामी चुनाव लड्न चाहन्छौं।’

जनमतसंग्रह गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुरा राखेको उनको भनाइ थियो।

‘मैले प्रचण्डलाई पार्टी मिलाऔं तर त्यो पार्टी मिल्नका लागि मिलाउने होइन। ठूलो बनाउन होइन बरू जनमत संग्रहका निम्ति र समाजवादमा पुर्‍याउन तथा जनतालाई स्वाधिनता दिनका लागि मिलेर जाऔं भन्ने प्रस्ताव गरेको थिएँ,’ उनले भने, ‘चुनाव जित्नैका लागि भने हामीबाट एकता सम्भव छैन।’

तर प्रचण्ड जनताका पक्षमा संघर्ष गर्न तयार भए आफूहरू सहकार्य गर्ने पनि बताए।

‘कांग्रेस, एमाले वा माओवादी जो तयार भए पनि सहकार्य गर्छौं,’ उनले भने, ‘उहाँहरू सहकार्य गर्न चाहनुहुन्न। बरू हामीलाई पनि आफैँजस्तो सत्तामा पुर्‍याउन चाहनुहुन्छ, हामी उहाँहरूको सत्ता-प्रवृत्ति हेरेर वाक्क भइसकेका छौं।’

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि आफूहरूलाई प्रतिबन्ध नै लगाएको र त्यसबेला ओली र प्रचण्डबीच झगडा हेर्दा आफूहरू वाक्क भएको पनि विप्लवको भनाइ थियो।

उनले संसदीय व्यवस्था असफल भइसकेको दाबी पनि गरे। ‘जनतालाई ढाट्न संसदीय व्यवस्थाको कुर्सीमा जान सम्भव छैन,’ उनले भने। साथै उनले सरकारसँग गरिएका तीन बुँदे सहमति कार्यान्वयन नभएकोमा असन्तुष्टि पनि जनाएका थिए।

उनले आफूहरूसँग हतियार नभएको दाबी गर्दै भने, ‘आशंकाको कुरा गर्ने? हामीसँग कहाँ छ हतियार?। हतियार प्रचण्डजीले बेचिसक्नु भयो, दिइसक्नुभयो, हामीसँग छैन।’

सरकारले प्रतिबन्ध लगाएको बेला पनि आफूहरूले हतियार कतैबाट नल्याएको दाबी उनको थियो। ‘प्रतिबन्ध लगाएका बेला हामीले हतियार ल्याएको कसैले देख्यो? आशंकाको मात्रै कुरा गर्ने?’ उनले प्रश्न गरे।

उनले सरकारसँग गरिएका तीन बुँदा भाँड्न खोज्नु भनेको शान्ति नचाहनु भएको पनि बताए। उनले आफूहरूको लडाइँ भ्रष्टचार, अनियमिततासँग रहेको पनि बताएका थिए।

करिब एक घन्टा बोलेका विप्लवले प्रचण्ड, बाबुराम भट्टराई र रामबहादुर थापा बादलप्रति असन्तुष्टि जनाएका थिए। यी नेताहरूले माओवादी आन्दोलनलाई धोका दिएकोसमेत आरोप उनले लगाए।

एमाले अध्यक्ष ओलीले भने ‘गफ’ दिने गरेको आरोप उनले लगाए। ओली प्रधानमन्त्री हुँदा विप्लवले सरकारसँग तीन बुँदे सहमति गरेका थिए।

‘तुइन अझै विस्थापित भइसकेको छैन। ओली प्रधानमन्त्री भएको दुई महिनामै हामीलाई प्रतिबन्ध लगाउने? त्यो बेला प्रचण्ड ताली ठोक्ने?,’ उनले भने, ‘अरूले जे गरे पनि प्रचण्डले यहाँसम्म धोका दिनु घात हो।’

उनले नेपालमा दुई खाले शिक्षा रहेको भन्दै शिक्षा नीतिको विरोध गरे भने युवाहरू वैदेशिक रोजगारीमा नेताहरूकै कारण जानु परेको आरोपसमेत लगाएका थिए।

उनले एमसिसी सहयोग हो भने स्वीकार्य सकिने तर विभिन्न शर्त राख्ने हो र स्वार्थका काम गर्न खोज्ने हो भने स्वीकार गर्न नसकिने बताए।

१४,कार्तिक.२०७८,आईतवार ०९:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्