देशभरका अम्पायर र स्कोररहरु रुपन्देहीमा भेला

रुपन्देही । नेपाल अम्पायर्स तथा स्कोरर संघको पहिलो साधारण सभा एवं अधिवेशनमा सहभागी हुन देशभरका अम्पायर र स्कोररहरु रुपन्देहीमा भेला भएका छन् । सबै अम्पायर र स्कोररलाई गोलबद्ध गर्ने उद्देश्यसहित यसअघि तदर्थ समिति गठन गरिएको थियो । यसलाई आधिकारिता दिँदै संघले अधिवेशन गरेको हो ।

यो संघमा ७० जना अम्पायर्स तथा स्कोरर आबद्ध छन् । संघका अनुसार प्रदेश एकमा ८, दुईमा १७, बागमतीमा १६, गण्डकीमा ४, लुम्बिनीमा १५, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ९ जना अम्पायर्स तथा स्कोरर छन् । साधारण सभा तथा अधिवेशन उद्घाटन गर्दै नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्लले अम्पायर र स्कोररहरु संघको अभिन्न अंग भएको बताए ।

मल्लले अम्पायर्स र स्कोरर गरेर मात्रै दैनिकी चलाउन कठिन हुँदै आएको र खेलाडी मात्रै आर्थिकरुपमा सवल भएर नहुने भएकाले अम्पायर्स र स्कोरर पनि सवल हुनुपर्नेमा जोड दिए । मल्लले विगतमा नेपालको क्रिकेट क्षेत्र अन्धकारमा फसेको तर अहिले व्यवसायिक रुपमा अघि बढेको बताए ।

अम्पायर्स तथा स्कोरर संघ तदर्थ समिति अध्यक्ष बुद्धिबहादुर प्रधानले टेस्ट नखेल्ने राष्ट्रबीच अम्पायरहरुको आदान–प्रदान गर्ने कामको सुरुवात भएको हो । पहिलो पटक मलेसिया र नेपालबीच अम्पायरहरुको आदानप्रदान गरेर यसको सुरुवात गरेको बताउँदै प्रधानले आगामी दिनमा संघले यसलाई निरन्तरता दिन पहल गर्ने बताए ।

क्रिकेट संघ लामो समयको निलम्बनपछि अहिले बल्ल बिस्तारै अगाडि बढिरहेको बताउँदै उनले अम्पायर्स र स्कोररहरुलाइ हतास नभई काम गर्न आग्रह गरे । कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य धर्मराज गिरी, पूर्व खेलाडी हरिबहादुर थापा, अम्पायर समिर खाँन, संजय गुरुङलगायतले बोल्दै क्रिकेट संघ र अम्पायर्स तथा स्कोररहरु परिपूरक भएकाले क्रिकेटको विकासमा मिलेर अघि बढ्नुपर्ने बताएक थिए । दुई दिनसम्म चल्ने अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।

२६,कार्तिक.२०७८,शुक्रबार १७:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्