पर्यटनमन्त्री आले र भारतीय उड्डयनमन्त्री सिन्धियाबीच भेटवार्ता : एयर बबल हटाउन भारत तयार

दिल्ली । भारतले नेपालसँगको हवाइ उडानमा विद्यमान एयर–बबललाई हटाउन तयार रहेको बताएको छ । नेपाली समकक्षी तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँगको शुक्रबार दिल्लीमा भएको द्धिपक्षीय भेटवार्तामा भारतीय नागरिक उड्यन मन्त्री ज्योतिरादित्य एम सिन्धियाले सो कुरा बताएका हुन् ।

उक्त वार्तामा भारतीय नागरिक उड्डन मन्त्री सिन्धियाले पर्यटन र हवाई क्षेत्रमा द्धिपक्षीय हितमा साझेदारी र सहकार्य गर्न तयार रहेको समेत बताए ।

शुक्रबार नयाँ दल्लीस्थित राजिव गान्धी भवन सफदरगंज भवनमा भएको भेटवार्तामा भारतीय नागरिक उड्डयनमन्त्री सिन्धियाले नेपाली जहाजलाई भारतीय थप बिमानस्थलहरुमा उडान भर्न दिने बताए ।

पर्यटनमन्त्री आलेले नेपाली ध्वजाबाहक जहाजलाई मुम्बई र बेग्लोरमा उडान भर्न दिन गरेको आग्रहलाई पर्यटन मन्त्री सिन्धियाले स्वीकार गरेका छन् ।

साथै पर्यटनमन्त्री आलेले काठमाण्डौं–दिल्ली–काठमाण्डौं उडान थपका लागि गरेको आग्रहलाई समेत भारतीय नागरिक उड्डयन मन्त्री सिन्धियाले पुरा गर्ने बचन दिएका छन् ।

कोरोना महामारी सुरु हुन अघि नेपालबाट नेपाली ध्वजाबाहक जहाजले मुम्बई र बेंग्लोरमा हप्तामा चार दिन उडान भर्ने गरेका थिए । कोरोनापछि बन्द रहेको काठमाण्डौं–मुम्बई र काठमाण्डौ–बेग्लोर हवाई सेवा पनि द्धिपक्षीय भेटवार्तापछि शुरु हुने संकेत देखिएको छ ।

मन्त्री आलेले समकक्षी सिन्धियासँग वार्ता सकारात्मक भएको र आफू निकै उत्साही भएको बताए । कोभिडका कारण नेपाल र भारतका नागरिकलाई मात्रै सीमित उडान अनुमती दिइएको एयर बबल अबधारणामा आधारित उडानलाई हटाई दुबै देशको मागका आधारमा उडान खुला गर्न सिन्धिया सहमत भएको मन्त्री आलेले बताए ।

नेपाल र भारतबीच एकवर्ष यता एयर बबल अवधारणामा काठमाडौं र दिल्लीकालागि मात्रै उडान हुदै आइरहेको छ । हाल दुबै देशका ध्वजाबहाक वायुसेवाले दैनिक एक–एक वटा उडान गर्दै आएका छन् ।

२७,कार्तिक.२०७८,शनिबार १५:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्