एमसीसीबारे अमेरिकालाई ओलीको जवाफ, सरकारले सम्झौताबारे एमालेसँग छलफल नै गरेन

काठमाडौं । काठमाडौं भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र मुख्य प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज शिष्टाचार भेटघाट भएको छ ।

भेटमा अमेरिकी सहायकमन्त्री लूले पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई अमेरिकी अनुदान सम्झौता (एमसीसी)लाई लिए पार्टीगत धारणा सोधेका थिए । जवाफमा ओलीले आफ्नो दल सरकारमा नभएकाले एमसीसीबारे स्पष्ट पोजिसन नरहेको र सरकारले पनि यसबारे आफूहरुसँग कुनै परामर्श नगरेको बताएका थिए ।

‘फतिमा सुमारजी आउँदा पनि सरकारले एमसीसीबारे हामीसँग कुनै परामर्श गरेको थिएन र अहिले तपाईं आउँदा पनि गरेको छैन’ ओलीको भनाइ उध्दृत गर्दै भेटमा सहभागी एमाले नेता राजन भट्टराईले भने ।

नेपालमा क्लिन इनर्जीको सम्भावना रहेको चर्चा गर्दै अमेरिकी सहायकमन्त्री लूले जलवायु संकटविरुद्ध अमेरिकाले मिलेर नेपालसँग लड्न चाहेको बताएका थिए । कोभिड–१९ महामारी र स्वास्थ्य क्षेत्रको विकासमा पनि अमेरिकाले सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

अमेरिकाले कोभिड-१९ महमारी र जलवायु संकटविरुद्ध नेपाललाई सघाउने प्रतिबद्धता लूले व्यक्त गरेका थिए । खोपसहितका स्वास्थ्य सहायताप्रति अमेरिकी सहयोगप्रति ओलीले आभार व्यक्त गरेका थिए । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा ओली र लूबीच भेटवार्ता भएको थियो ।

सहायकमन्त्री लूले आजै सरकारी अधिकारीहरुलाई पनि सिंहदरबारमा भेटवार्ता गरिरहेका छन् ।

३,मंसिर.२०७८,शुक्रबार १४:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्