
ललितपुर। ललितपुर महानगरपालिकाले कोरोना विरुद्धको कोभिशिल्ड र भेरोसिल खोप शनिवारबाहेक अन्य सबै दिन दिन सुरु गरेको छ ।
आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि ३ बजेसम्म महानगरपालिकको जनस्वास्थ्य शाखा छबहालमा खोप लगाउने व्यवस्था गरिएको महानगरले जनाएको छ । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले खोपमा नागरिकको सहज पहुँच होस् भन्ने हेतुले उक्त निर्णय गरेको बताए ।
उनले भने, ‘ यसअघि हामीले मिति तोकेर खोप कार्यक्रम सञ्चालन गथ्र्यौ, तोकेकै मितिमा आएर खोप लिन केही नागरिक असमर्थ भएको पनि जानकारीमा आयो, त्यसैले यस्तो निर्णय गरेका हौं।’ नागरिकको सहजताको लागि महानगरले साताको ६ दिन खोप कार्यक्रम सञ्चालन गरेको उनले बताए ।
साताको ६ दिन खोप लगाउने व्यवस्थाले खोप लिन सबैलाई सहज हुने उनको भनाइ थियो । ललितपुर महानगर लगातार कोरोना विरुद्धको खोप सञ्चालन गर्ने पहिलो स्थानीय तह हो । महानगरले यस अघि उमेर ,व्यक्तिको स्वास्थ्य अवस्था लगायतलाई प्राथमिकतामा राखेर खोप कार्यक्रम सञ्चालन गरेको थियो ।
कोरोना नियन्त्रण र कोराना संक्रमण अत्यधिक फैलिएको बेला व्यवस्थित र बिरामीका लागि सुविधा सम्पन्न नमूना आइसोलेसन सञ्चालन गरेकोमा समेत ललितपुर महानगरको प्रसंशा भएको थियो । यसैगरी कोरोना विरुद्धको खोप पनि महानगरमा सौहार्दपूर्ण ढंगमा सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्