लैंगिक हिंसाविरुद्धका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै तहका सरकार तथा गैरसरकारी निकायलाई लैंगिक हिंसा विरुद्धका अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएका छन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको बिहीबार भर्चुअल माध्यमबाट शुभारम्भ गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले महिलालाई राजनीतिक, सामाजिक, आर्थिक रुपमा बलियो बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताए । उनले भने, ‘हामीले यसका लागि संवैधानिक व्यवस्था गरेका छौ । समावेशी हक, सुरक्षित मातृत्वको सुनिश्चितता गरिएको छ ।’

प्रधानमन्त्री देउवाले सबै प्रकारका भेदभाव तथा हिंसा अन्त्य गर्नका लागि नीति तथा कार्यक्रम प्रभावकारी बनाउने सरकारको योजना रहेको पनि बताए । उनले अझै कतिपय प्रथा कायमै रहेकाले ति प्रथा अन्त्य गर्न सरकार लागि परेको र त्यसका लागि विभिन्न कार्यक्रम पनि सञ्चालन गरिरहेको उनको भनाई थियो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले नेपालमा ४८ प्रतिशत महिला कुनै न कुनै प्रकारको लैंगिक हिंसामा परिरहेको बताइन् । दिनप्रतिदिन हत्या हिंसा, बलात्कारका घटनाब बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री रेग्मीले भनिन्, ‘पछिल्लो समय महिला आफ्नै बाबु, दाइ भाइ तथा परिवारकै नजिकका व्यक्तिबाट सुरक्षित छैनन् ।

लैगिंक हिंसा भए पनि परिवारले पिडकलाई बहिस्कार गर्नुको साटो उल्टै पीडितलाई थप पिडा दिने काम गरिरहेका छन् ।यसले गर्दा घरै भित्र हुने हिंसाका घटना बढिरहेका छन् ।’

दिनप्रतिदिन बढ्दै गएका लैंगिक हिंसाका घटना कम गर्नका लागिसबैले लाग्न जरुरी रहेको बताउदैँ मन्त्री रेग्मीले सरकारले कानून ल्याए पनि कार्यान्वयनमा बढी जोड दिनुपर्ने र त्यसमा सबैले लाग्नुपर्ने बताइन् ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले विस्वास र भरोसा गरिएका व्यक्तिबाट यौन शोषण भोग्नुपरेकोमा चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘अति विपन्न परिवारदेखि उच्च घरानासम्मका सबै महिलामाथी कुनै न कुनै प्रकारको लैंगिक हिंसा भइरहेको छ । अझै पनि महिलालाई उपभोग्य साधनका रुपमा हेर्ने गरिएकाले लैंगिक हिंसाका घटना बढ्दै गएको छ ।’

नेपाल प्रहरीको महिला, बालबालिका तथा जेष्ठ नागरिक निर्देशनालायका प्रमुख प्रहरी नायव महानिरिक्षक (डीर्आजीपी) राजेशकुमार लाल कर्णले प्रहरीको तथ्यांक अनुसार महिलामाथी हुने हिंसामा ४० प्रतिशत लैंगिक हिंसाका घटना भइरहेको तथ्यांक सार्वजनकि गरे । उनले भने, ‘त्यसमा पनि ७५ प्रतिशत घरेलु हिंसाका घटना भइरहेका छन् भने ६२ प्रतिशत यौनजन्य हिंसा भइरहेका छन् । ७८ प्रतिशत चिने जानेकै व्यक्तिबाट यौनजन्य हिंसा भइरहेका छन् ।’

डीआईजीपी कर्णले प्रहरीले शुन्य सहनलिशताको सिद्धान्त अपनाएर नेपाल प्रहरीले काम गरिरहेको उनले बताए । उनले भने, ‘१० प्रतिशत भन्दा बढी प्रहरी कर्मचारी महिला, बालबालिका तथा जेष्ठ नागरिक निर्देशनालय अन्तर्गत काम गरिरहेका छन् । मुलुकभरका दुई सय ३५ स्थानामा सेवा केन्द्र स्थापना गरेर निर्देशनालयमार्फत काम भइरहेको छ ।’

९,मंसिर.२०७८,बिहीबार १४:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्