राप्रपा महाधिवेशन : मतदान सकिन अझै आठ घण्टा लाग्ने, अहिलेसम्म १५ सय मत खस्यो

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनमा १५ सय मत खसेको छ । निर्धारित समयभन्दा दुई घण्टा ढिलापछि सुरु भएको मतदान अझै जारी छ । राप्रपाको महाधिवेशन उद्घाटन बिहीबार भएको थियो ।

निर्वाचन समितिका निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार मतदान सकिँन कम्तीमा पनि राति ११ बज्ने छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू काठमाडौंमा भेला भएका छन् ।

महाधिवेशनमा प्रदेश १ बाट दुई सय ५६ जना, प्रदेश २ बाट एक सय ७० जना, बागमती प्रदेशबाट दुई सय ४५ जना, गण्डकी प्रदेशबाट दुई सय ५० जना, लुम्बीनी प्रदेशबाट पाँच सय जना, कर्णाली प्रदेशबाट एक सय ९७ जना र सूदुरपश्चिम प्रदेशबाट एक सय ७५ जना प्रतिनिधि सहभागी छन् । कुल १७९३ जना प्रतिनिधिध रहेका छन् ।

निर्वाचनमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

एक जनालाई मतदान गर्न १५ मिनेटभन्दा बढीमा लागिरहेको छ ।

१८,मंसिर.२०७८,शनिबार १६:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्