मेलम्चीको पानी छिट्टै राजधानी ल्याइने मन्त्री चौधरीको दावी

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री एवं सन्त कृष्णप्रसाद भट्टराईको सपना साकार पार्न छिट्टै मेलम्चीको पानी राजधानीमा ल्याइने बताएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएपछि आज महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजित कार्यक्रममा उजले स्वच्छ खानेपानी उपलब्ध गराउन आफू लागिपरेको बताए ।

अस्थायीरुपमै भए पनि पानी छिटो काठमाडौं ल्याउन लागिपरेको मन्त्री चौधरीले जानकारी दिए । यसअघि पानी राजधानी आइपुगेका बेला पूर्वप्रधानमन्त्रीले मेलम्चीको सपना अघि बढाउने सन्त नेता भट्टराईको नामसमेत स्मरण गर्न नचाहनु अराजनीतिक घटना भएको उनले गुनासो गरे ।

पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले पार्टीमा युवाको भूमिका महत्वपूर्ण बनाउनकै लागि आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको बताउनुभयो । कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका महामन्त्री बलदेव तिमल्सिनालगायतले नयाँ सोच र दृष्टिकोणका साथ कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

१४,पुष.२०७८,बुधबार १३:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्