प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटघाट

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश प्रमुख तिलक परियारसँग भेटघाट गरेका छन् । भेटमा मुख्यमन्त्री शाहीले सरकार गठन भएपछि अहिलेसम्म भए गरेका काम कारवाहीका बारेमा ब्रिफिङ गरेका छन् ।

मुख्यमन्त्री शाहीले हरेक बुधबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको, प्रत्येक आइतबार मन्त्रालयका सचिवसँग नियमित बैठक बस्ने गरेको, कोरोनाका कारण रोकिएका विकास योजनाको म्याद तीन महिना थप गरिएको जानकारी प्रदेश प्रमुखलाई गराएका छन् ।

यस्तै, भौतिक पूर्वाधार र उर्जा जलस्रोत विकास मन्त्रालयमा देखिएको कर्मचारीको समस्या समाधान भएको, दोस्रो चौमासिकमा पुँजीगत खर्च बढ्नेपनि उनले जानकारी गराएका छन् ।

यस्तै मुख्यमन्त्री शाहीले पाँच वर्षदेखि १७ वर्षसम्मका कर्णालीका सम्पूर्ण बालबालिकालाई खोप लगाउने तयारी भइरहेको जानकारी पनि दिए ।

भेटका क्रममा प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारका काम–कारवाहीप्रति आफू सन्तुष्ट रहेको बताएका छन् ।

आन्तनिर्भर अर्थतन्त्रको विकासका लागि सरकारले त्यहीँ अनुसारका नीति, कार्यक्रम ल्याउनुपर्ने भन्दै उनले कृषिको उत्पादन बढाउनका लागि कृषकका उत्पादनहरु प्रदेश सरकारले खरिद र बजारिकरणको व्यवस्था गर्ने वातावरण मिलाउन प्रदेश प्रमुख परियारले सुझाव दिएका छन् । यस्तै कालापहाड र विदेशमा जाने मानव श्रमिकलाई आफ्नै गाउँठाउँमा प्रयोग गर्ने वातावरणका लागि सरकार लाग्नुपर्ने सुझाव पनि दिएका छन् ।

कर्णालीमा जातीय विभेदका घटनाहरु बढेकाे प्रति चिन्ता व्यक्त गर्दै प्रमुख परियारले सामाजिक जागरण र रुपान्तरणका कार्यक्रम सञ्चालन गर्न सरकारलाई सुझाव दिएका छन् ।

१७,पुष.२०७८,शनिबार १५:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्