ग्राहकका गुनासा सुन्ने र समाधान गर्नेमा केयूकेएल ठिमि शाखाका प्रमुख ढुंगाना अब्बल

पानी समयमा पाउने भाग्यमानी जनता मध्यपुर ठिमी नगरपालिकामा

काठमाडौं । काठमाडौं उपत्यकाबासीहरूको सबैभन्दा ठूलो समस्या भनेको खानेपानी समस्या हो। समयमा नियमित रूपमा खानेपानी नआउनाले उपत्यकाबासी जनता चिन्तित र हैरान छन। कुनै बेला उपत्यकाबासी चरम लोडसेडिङको मारमा थिए। अहिले त्यो अवस्था अन्त्य भएको छ। तर, खानेपानीको समस्यामा केही समाधान भए पनि मूल रुपमा भने अझै ज्यु का त्यु छ। दिगो रूपमा समाधान हुन सकेको छैन।

सुख्खा मौसम मंसिरदेखि जेठसम्म काठमाडौं उपत्यकामा पिउने पानीको अभाव सधैं चर्किन्छ। वर्षायाम असारदेखि कार्तिकसम्म केही बढी पानीको स्रोत उपलव्ध हुँदा यो समयमा पानी वितरणमा केही सहज भएको पाइन्छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलका अनुसार अहिले पिउने पानीको दैनिक माग करिब ४२ करोड देखि ४५ करोड लिटर रहेको अनुमान छ। तर, आपूर्ति दैनिक १० करोड देखि १३ करोड लिटर मात्रै भैरहेको छ। अपुग पानी निजी क्षेत्रका पानी आपूर्ति गर्ने उद्योग,टयाङकर व्यवसायी र भूमिगत पानीको स्रोतबाट प्रयोग हुँदै आएको छ।

उपत्यकामा खानेपानीको माग केही स्रोतले मात्रै धानेको छ। काठमाडौं उपत्यकाबासीलाई पानी खुवाउन शिवपुरी, सुन्दरीजल, बालाजु, फर्पिङ, ललितपुरको बोडे, लेले र भक्तपुरका मुहान प्रयोग हुने गरेको केयुकेएल स्रोतले बताएको छ। यी ठाउँका मुहानबाट पानी भण्डारण गरी प्रशोधन गरेर केयुकेएलले पानी वितरण गरिरहेको छ।

महाँकालमा दैनिक साँढे २ करोड लिटर पानी प्रशोधन भइरहेको छ। सुन्दरीजलदेखि महाँकालसम्म ९ किलोमिटर दुरी छ। सुन्दरीजलको मुहानबाट पाइप बिछ्याएर महाँकालसम्म पानी ल्याइएको छ। महाँकालमा अहिले चारवटा पानी भण्डारण ट्याङ्की छन्। जुन ट्याङ्कीबाट कपन, चावहिल, बौद्ध, जोरपाटी, गौशाला, सिफल, बानेश्वर, अनामनगर, पुतलीसडक, न्युरोड, कमलादी, हाँडीगाउँ र महाराजगञ्जसम्म पानी वितरण गरिन्छ। महाँकालको पानी प्रशोधन केन्द्र जापानी सहयोग नियोग जाइकाले निर्माण गरिदिएको हो।

महाँकाल बाहेक भक्तपुरको बोडे, बाँसबारी, सैंबु र भक्तपुर अन्य पानी प्रशोधन केन्द्रहरू रहेका छन्। पानी प्रशोधनका लागि ब्लिचिङ पाउडर, फेरिक आलम र चुना प्रयोग गर्ने गरिन्छ। पानी प्रशोधन गरिसकेपछि अहिले सातामा ४ दिन देखि ८ दिनमा एक पटक पानी घरघरमा वितरण हुँने गरेको पाइन्छ। हप्तामा एक दिन पानी पाउनु भनेको एकदम दुःखदायी स्थिति हो।

काठमाडौं उपत्यकामा पानीको मागभन्दा आपूर्ति अत्यन्त न्यून रहेको छ। खानेपानीको आपूर्ति सहज र सुलभ बनाउन मेलम्चीबाहेक अरु कुनै दिर्घकालीन र भरपर्दो विकल्प छैन र देखिदैन पनि। अहिले तपाईं हामी सबै मेलम्चीको पर्खाइमा छौं। मेलम्ची नआएसम्म काठमाडौंमा खानेपानी पुग्दैन। तर पनि केयूकेएलले जसोतसो गरेर भए पनि पानी वितरण गरिरहेको छ।

सरकारले मागअनुसार आपूर्ति दिन नसकेपछि उपत्यकामा पानीको व्यापार पनि उत्तिकै फस्टाएको छ। ट्याङ्करमार्फत दैनिक पाँचदेखि ६ करोड लिटर पानी आपूर्ति हुन्छ। यस्तै, जारमार्फत् दैनिक करिब २० लाख र बोतलमार्फत् करिब अढाई लाख लिटर पानी व्यवसायीले बिक्री गर्दै आएका छन्। ट्युबवेल, प्राकृतिक धारा, कल र बोरिङबाट पनि उपत्यकावासीले पानीको आवश्यकता टार्दै आएका छन्।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड मध्यपुर थिमि शाखाले भने यस्तो अभावको अवस्थामा पनि सातामा दुई पटक देखि ठाउँ अनुसार तीन पटकसम्म दुईदेखि तीन घण्टासम्म भरपर्दो र व्यवस्थित ढंगले आलोपालो गरि खानेपानी वितरण गर्दै आएको छ। केयूकेएल पानी प्रशोधन केन्द्र बोडे र भुमिगत स्रोतबाट संकलित पानी प्रशोधन गरि वितरण गरिरहेको छ। केयूकेएलको मध्यपुर थिमि शाखाको कार्यक्षेत्र मध्यपुर थिमि नगरपालिकाको १ नंम्बर वडा देखि ९ नंम्बर वडा सम्म रहेको छ। यस शाखाले यस नगरपालिकाको ११.४७ वर्ग किलोमिटर क्षेत्रफलका करिव १ लाख जनसंख्यालाई खानेपानी उपलव्ध गराउदै आएको छ।

केयूकेएलको मध्यपुर थिमि शाखा अन्तर्गत कार्तिक मसान्तसम्म सार्वजनिक धारा ८ सय ८२ वटा, मिटर नभएको ३५ वटा र मिटर भएको निजि धारा १२ हजार ७ सय ४ वटा र मिटर नभएको निजि धारा १३ हजार ८ सय ११ वटा गरि कुल २६ हजार ५ सय १५ वटा धारा जडान गरेको छ।
मध्यपुर थिमि शाखा अन्तर्गत दैनिक १ करोड ८० लाख लिटर पानीको माग रहेको छ। तर केयूकेएलको बोडे प्रशोधन केन्द्र, विभिन्न स्रोत र भुमिगत डिबटयुवेलबाट गरि दैनिक १ करोड लिटर पानीको स्रोत उपलव्ध गरि पानी वितरण गर्दै आएको छ। माग अनुसार दैनिक ८० लाख लिटर पानी अपुग रहेको छ। शाखाले उपलव्ध भएको पानी आलोपालो मिलाई सातामा दुई देखि तीन दिनमा दुई घण्टादेखि तीनघण्टासम्म पानी वितरण गर्दै आएको केयूकेएल मध्यपुर थिमि शाखाका प्रमुख मनिस ढुंगाना बताउनु हुन्छ।

यस शाखाले खानेपानी पाइप बिग्रे भत्केको अवस्थामा सुचना पाएको ७२ घण्टा भित्र मर्मत सम्भार गरि जनताको घर(घरमा पानी पुरयाउने व्यवस्था मिलाउदै आएको छ। जनताका गुनासाहरूको सम्बोधन अविलम्ब गर्दै आएको छ। छिटो छरितो रूपमा खानेपानी पाइप चुहावटको ममर्त सम्भार, धारा जडान, मिटर जडान र पानी महसुल असुल गर्ने व्यवस्था मिलाउदै आएको छ। मध्यपुर थिमि शाखाले ग्राहकवर्गसँग बेला( बेलामा छलफल गर्दै आएको छ। यसरी छलफल गर्दा उपभोक्ताहरूले शाखा प्रमुखलाई अत्यन्तै मृदुभाषी, ग्राहकका समस्या सुन्न सक्ने, बुझ्न सक्ने र समस्या तत्काल समाधान गर्न प्रयास गर्ने भनी सकारात्मक दृष्टिले हेरेको पाइयो। केयूकेएल र यसका शाखाहरूमा प्रायः ग्राहकका गुनासा सुनिदैन,ग्राहकसँग छलफल पनि गरिदैन, कदमकदाचित गुनासो सुनिएपनि मतलव गरिदैन, तर केयूकेएलको मध्यपुर शाखाका प्रमुख ढुंगाना यस्ता अपवाद हाकीम हुन उनले ग्राहकका गुनासालाई धैर्य गरेर ध्यानपुर्वक सुन्छन, तत्काल समाधान गर्न पहल गर्छन। उनको कामप्रति ग्राहक सन्तुष्ट भएर फर्किन्छन। शाखा प्रमुख ढुंगाना हेर्दाजति राम्रा छन,बोली वचन पनि उत्तिकै राम्रो छ। अझ उनको काम गर्ने शैली त्यो भन्दा पनि राम्रो छ भनी ग्राहकले भन्दै आएका छन।

यश शाखाले खानेपानी महसुल बापत चालू आर्थिक वर्षको गत श्रावण महिनामा ६८ लाख ६० हजार ८ सय ३७ रूपैयाँ, भाद्र महिनामा ५१ लाख ७३ हजार ९ सय १६ रूपैयाँ,असोज महिनामा ४७ लाख २३ हजार ९ सय ८४ रूपैयाँ,कार्तिक महिनामा ३८ लाख ९५ हजार ५ सय २८ रूपैयाँ संकलन गरेको छ। गत २०७८ श्रावण महिना यता मंसिर महिना सम्म केयूकेएल अन्तर्गत २ करोड ५७ लाख ९ हजार ३ सय ३४ रूपैयाँ र बोडे खानेपानी प्रशोधन केन्द्र अन्तर्गत ३७ लाख २० हजार १ सय असी रूपैयाँ बक्यौता उठाउन बाँकी रहेको शाखा प्रमुख ढुंगानाले जानकारी दिनु भएको छ। सरकारी कार्यालय, सार्वजनिक धारा र निजि धाराको पनि बक्यौता धेरै उठाउन बाँकी रहेको छ। शाखाले विगतदेखिको पानीको बक्यौता महसुल उठाउन ताकेता गरि पहल गरिरहेको ढुंगानाले बताउनु भएको छ। पुराना पाइपलाइन, पुराना भल्व, पुराना साँचोले गर्दा चुहावटको समस्या छ। यो समस्या समाधान गर्न नयाँ पाइपलाइन,भल्प र पुराना साँचो फेर्नु पर्ने आवश्यकता रहेको छ। बजेटको कमीले गर्दा यस शाखाले भने जस्तो गरि मर्मत सम्भार गर्न सकेको छैन। यधपी ग्राहकका अति आवश्यक गुनासाहरू भने पूरा गर्दै आएको छ।

केयुकेएलका मध्यपुर थिमि शाखाका प्रमुख ढुंगानाका अनुसार काठमाडौंमा बर्षेनि करिब १० प्रतिशत पानीको माग थपिदै आएको छ। बस्ती बाक्लिन थालेको र प्राकृतिक स्रोत सुक्न थालेपछि पिउने पानीको अभाव बर्सेनि बढन थालेको छ । तथापि, त्यसअघि पनि पानीको स्रोतको पर्याप्त उपलब्धता थिएन। ढुंगेधाराहरुबाट मानिसले आवश्यकता पूरा गर्दै आएका थिए। पानीको स्रोतको अभाव हुँदा उपत्यकाका बासिन्दा ट्याङ्कर र जारको पानीमा निर्भर रहनुपर्ने बाध्यात्मक अवस्था आएको छ।

काठमाडौं उपत्यकामा वर्षायाममा दैनिक करिब १५ करोड लिटर केयुकेएलमार्फत वितरण हुन्छ। सुक्खायाममा करिब १० करोड लिटरमा सीमित हुनेहुँदा सुख्खायाममा खानेपानीको सुविधा सहज रूपमा पुरयाउन कठिनाइ रहेको ढुंगानाले बताउनु भयो।

स्वच्छ खानेपानी पाउनु प्रत्येक नागरिकको आधारभूत मौलिक अधिकार भएपनि उपत्यकाका कतिपय स्थानमा ७ दिनसम्म पनि पानी आपूर्ति हुन सकेको छैन। उपत्यकाको पानीको अभाव टार्ने एक मात्र विकल्प देखिन्छ, मेलम्ची खानेपानी आयोजना। आयोजनास्थलमा बाढी र पहिरोको समस्या आउदा काठमाडौंबासीको खानेपानीको आशा ‘आकाशको फल’ बन्दै आएको छ। सरकार तुरुन्त मर्मत गरि मेलम्चीको पानी ल्याउने बताइ रहेको छ। तर, मेलम्ची पुग्ने पहुँच मार्गको अभावले काममा सोचे जति प्रगति हुन सकेको छैन।

यदि मेलम्ची आयोजना सम्पन्न भएको भए काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर पानी थपिने थियो। यसले काठमाडौंको पानीको अभाव परिपूर्ति गर्ने ढुंगानाको दाबी छ। त्यसबाहेक सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाबाट पनि थप १७र१७ करोड लिटर पानी ल्याउने योजना सरकारको छ। यद्यपि, त्यसका लागि पनि पाँच, सात वर्ष समय लाग्न सक्ने ढुंगाना बताउनु हुन्छ।

सरकारले खानेपानीको माग पूरा गर्न नसकेपछि यसको फाइदा निजी क्षेत्रका ट्याङ्कर व्यवसायीले लिँदै आएका छन्। व्यवसायीका अनुसार हाल उपत्यकामा दैनिक एक करोड रूपैयाँ बराबरको खानेपानीको कारोबार हुन्छ। व्यवसायीका अनुसार हाल उपत्यकामा ट्याङ्करमार्फतमात्र दैनिक ५ करोड लिटर पानी बिक्री हुन्छ। ट्याङ्करबाट मात्र उपत्यकाका करीब ४ हजार घर तथा कार्यालयमा पानी आपूर्ति भैरहेको छ।

खानेपानी मन्त्रालय र केयूकेएलले चाहेर मात्रै पनि काठमाडौंको खानेपानी समस्या छुमन्तरमा हल गर्न सक्दैन। त्यसको प्रमुख कारण हो–राज्यले खानेपानीका लागि पर्याप्त बजेट छुट्याउन नसक्नु। उपभोक्ताले खानेपानी सित्तैमा उपभोग गर्दैनन्, राज्यले महशुल लिन्छ। त्यो महशुल राज्यकोषमै जम्मा हुने हो। तर, सरकारको नेतृत्वमा खानेपानीमा गरिएको लगानी अनुदान मात्रै हो भन्ने खालको छ, त्यसको प्रत्यक्ष लाभ नीजि व्यवसायीले लिएका छन्।

अहिले काठमाडौं उपत्यकमा पानी नआउनु प्राथमिक विषय हो भने मेलम्चीको पानी आइसकेपछि देखिने चुनौतीहरु पनि धेरै छन्। पहिलो चुनौतीको विषय पानी वितरणमै देखिन्छ। हरेक उपभोक्ता ग्राहकवर्गको घर(घरमा खानेपानी मिटर जडान, बराबरी मात्रामा पानी वितरण गर्नुपर्ने र लेबीका कुराहरु पनि उठिरहेका छन्। त्यस्तै, पानीमा जैविक प्रदुषण आउन नदिन लिक्वेड क्लोरिनको व्यवस्था पनि गर्नुपर्ने ढुंगाना बताउनु हुन्छ।

अहिलेसम्मको निर्णयअनुसार उपत्यकामा २४ सै घण्टासम्म पानी दिने प्रावधान बनाइएको छ। पानी भण्डारणका लागि ‘ब्लब डिस्ट्रिब्युसन सिस्टम’ अपनाइएको छ। काठमाडौैं उपत्यकालाई चारैतिर घेरेर १० वटा ठूल्ठूला रिजर्भवायरहरु निर्माण गरिएका छन्। सुन्दरीजलबाट महाँकाल हुँदै चाबहिल चुच्चेपाटीको पानी भण्डारबाट एउटा पूर्व र अर्को पश्चिमको रिजर्भवायरहरुमा पानी पठाइनेछ।
मेलम्ची खानेपानीको दुईवटा समूह बनाइएको छ ‘क’ र ‘ख’। मेलम्चीदेखि सुन्दरीजलसम्म पानी ल्याउने काम ‘क’ ठेक्का अनुसार समूहले गर्छ भने बाँकी काम ‘ख’ समूहले गर्नेछ। साथै यसको सम्पूर्ण व्यवस्थापनका लागि सरकारले काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन समिति गठन गरेको छ।

मुख्य समस्या चुहावट

पानीको चुहावट भन्नाले पाइप फुटेर बाहिरिने समस्या मात्र होइन। मिटरमा बिल नउठ्ने समस्या पनि त्यसैमा पर्छ। खासगरी, पुराना संरचना र पाइपका कारण ठूलो परिमाणमा पानी खेर जाने गरेको ढुंगाना बताउनु भयो । उपत्यकामा घर–घरमा पानी पुरयाउन कतिपय पाइप लाइन सय वर्षभन्दा पूराना पनि छन्। यसलाई नयाँ संरचनाले प्रतिस्थापन नगरेसम्म खानेपानी चुहावट रोक्न सकिन्न केयुकेएलका मध्यपुर थिमी शाखाका प्रमुख ढुंगानाले भन्नू भयो।

मेलम्चीको पानी ल्याउने प्रयास अन्तिम चरणमा रहेकाले पुराना पाइपलाइन प्रतिस्थापन गरेर नयाँ जडान भइरहेको छ। पाइपलाइनको काममा ध्यान नदिने हो भने भोलि ठूलो समस्या आउन सक्छ। उपभोक्ताले तोकिएको मापदण्डभन्दा उचाइमा धाराहरु जडान गरेकाले पनि चुहावट नियन्त्रण हुन नसकेको केयुकेएलका अधिकारीहरुको भनाइ छ।

खानेपानी समस्याको समाधान गर्ने सबैभन्दा उत्तम बिकल्प हो शक्तिशाली खानेपानी प्राधिकरणको गठन। उदाहरणका रुपमा अहिलेको नेपाल विद्युत प्राधिकरणलाई लिन सकिन्छ। नीजि क्षेत्र र राज्य दुवैले बिजुली उत्पादन गर्छन्, त्यो बिजुली राज्यले किन्छ र उपभोक्तालाई बिक्री गरी महशुल लिन्छ। यसले राज्यमा एकद्वार प्रणाली पनि स्थापित भएको छ।

खानेपानी समस्या समाधानका लागि पनि यो राम्रो बिकल्प हुन सक्छ। सरकार र नीजि क्षेत्र दुवैले खानेपानी उत्पादन गर्छन्, त्यसलाई सरकारी पानी ट्याङ्कीमा जोडिन्छ र नागरिकलाई बितरण गरिन्छ। उनीहरुबाट लिइएको महशुल राज्य कोषमा जान्छ। आज देशैभरि बिजुलीको महशुल दररेट एउटै छ, यसबाट उपभोक्ता ठगिने जोखिम पनि हुदैन, पानीको गुणस्तर पनि हुन्छ। यो कुरा खानेपानीको हकमा पनि व्यवस्था गर्न सकिने तर्क नीति निर्माताहरूले उठाइ रहेका छन। केयूकेएललाई नै प्राधिकरण बनाएर जान सकिन्छ।

१८,पुष.२०७८,आईतवार १०:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्