केन्द्रसँग प्रदेश अर्थमन्त्रीको गुनासो, सन्तोषजनक काम गर्न सकिएन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सातै प्रदेशका अर्थमन्त्रीसँग भर्चुअल छलफल गरेका छन् ।

संघ, प्रदेश र स्थानीय तह (समन्वय र अन्तरसम्बन्ध) ऐन, २०७७ दफा (२२) अन्तर्गत गठित अर्थ विषयगत समितिको पहिलो बैठकमा सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीको सहभागिता थियो ।

बैठकमा उनीहरूले नीति र कर्मचारीको अभाव, योजनामा दोहोरोपन, विस्तृत अध्ययनबिनाका योजना, संघ र प्रदेशबीचको अविश्वास, स्रोत साधनमा अधिकारको कमीलगायतका समस्याका कारण बजेट कार्यान्वयन सन्तोषजनकरूपमा गर्न नसकिएको गुनासो गरेका छन् ।

छलफलमा मन्त्री शर्माले जनतालाई सबभन्दा बढी सेवा दिने सरकार ‘राम्रो’ र सबभन्दा बढी खर्च गर्ने सरकारलाई बढी बजेटको व्यवस्था गर्ने आश्वासनसमेत दिएका छन् ।

‘सबभन्दा बढी जसले सेवा दियो त्यही राम्रो सरकार, जसले सबभन्दा बढी खर्च गर्न सक्यो त्यसैको लागि बजेट गर्ने व्यवस्था गर्ने कुरा मैले घोषणा गरेको छु’, उनले भने, ‘यहाँहरूले खर्च गरेर अपुग भएमा थप बजेट माग गर्दा हामीले यहाँ बाँडिएको बजेट फिर्ता लिएर भए पनि दिन सक्ने अवस्थामा हुने छौँ ।’

कोभिड महामारीमा स्थानीय र प्रदेश सरकारले बढी काम गरेको उल्लेख गर्दै मन्त्री शर्माले एकअर्काले असल कामको सिको गर्नुपर्ने बताए । संघीयता बलियो बनाउन असल कामको अंगिकार र कतिपय व्यवहारमा सुधार गरेर जानुपर्ने उनको भनाइ थियो ।

१४,माघ.२०७८,शुक्रबार १६:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्