भोलिको सदनको कार्यसूचीमा पनि परेन एमसीसी, सभामुखले बोलाए कार्यव्यवस्था बैठक

काठमाडौं । भोलि बस्न लागेको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा बहुचर्चित र विवादित अमेरिकी सहायता परियोजना (एमसीसी) राखिएको छैन ।
प्रधानमन्त्री र कानूनमन्त्री लगायतले भोलि एमसीसी टेबुल गर्ने बताइरहेको भए पनि संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसी राखिएको छैन ।

प्रमुख सत्तारुढ नेपाली कांग्रेसको आज बसेको संसदीय दलको बैठकले नाफाघाटा नहेरी कांग्रेसले एमसीसी पेस गर्ने र अनुमोदनको पक्षमा उभिने निर्णय गरेको थियो ।

दिउँसो १ बजे बस्ने बैठकको कार्यसूचीमा थारु आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने विषय राखिएको छ।

यसैबीच सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । भोलि बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको हो । उक्त बैठकमा एमसीसी टेबुल गर्ने, नगर्नेबारे छलफल हुने ठानिएको छ।

३,फाल्गुन.२०७८,मंगलवार १७:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्