वैकल्पिक गठबन्धन बनाउन प्रधानमन्त्री तयार, एमालेसँग निरन्तर संवाद

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समर्थन खोजेका छन् । सत्तारुढ ५ दलीय गठबन्धनमा एमसीसी पारित गर्ने विषयमा सहमति जुटाउन सकस परेपछि प्रधानमन्त्री देउवाले एमालेको साथ खोजेका हुन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी अनुमोदनका लागि साथ नदिए गठबन्धन तोडेरै पनि एमसीसी संसदबाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाको तयारी छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी टेबल भए सरकार छाड्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले वैकल्पिक गठबन्धनका लागि पहल थालेका हुन् । यसका लागि एमाले नेतृत्वसँग संवाद गर्ने जिम्मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पूर्वरक्षामन्त्री डा. मिनेन्द्र रिजाललाई दिइएको छ ।

प्रधानमन्त्रीकै आग्रहअनुसार नेता रिजालले विहीबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । भेटमा नेता रिजालले एमसीसी संसदबाट अनुमोदन गराउन सहयोगका लागि अनुरोध गरेका थिए । ओलीले भने गठबन्धनको प्रष्ट धारणा आइनसकेकाले एमालेले कुनै निर्णय नदिने बताएका थिए । अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धन यथावत रहने अवस्थामा एमालेले सहयोग गर्न नसक्ने स्पष्ट पारेका थिए ।

अध्यक्ष ओलीलाई आजै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समेत टेलिफोन गरेका छन् । प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार आज ५ बजेको गठबन्धन बैठकमा समेत माओवादी र समाजवादीले एमसीसीबारे सहमति नदिए वैकल्पिक गठबन्धनको ढोका खुल्नेछ ।

‘विषय धेरै अगाडि बढिसकेको छ । प्रधानमन्त्रीले आज ५ बजेपछि सबै छिनोफानो गर्छु भन्नुभएको छ’, देउवानिकट एक नेताले भने ।

ती नेताका अनुसार विहीबार विहानको भेटमै प्रधानमन्त्री देउवाले एमसीसीमा समर्थन दिन नसक्ने भए सरकार छाड्न माओवादी अध्यक्ष प्रचण्डलाई भनिसकेका छन् । देउवासँगको भेटपछि प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरिसकेका छन् ।
‘आज ५ बजेको बैठकमा सहमति भएन भने वैकल्पिक गठबन्धनको तयारी अगाडि बढ्छ’, कांग्रेस नेताको दाबी छ ।

५,फाल्गुन.२०७८,बिहीबार १७:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्