
काठमाडौं । आम आदमी पार्टीका नेता भगवन्त मानले बुधबार पञ्जाबको मुख्यमन्त्री पद तथा गोपनियताको शपथ लिएका छन् । उनको शपथ ग्रहण समारोह पञ्जाबको नवांशहरस्थित भगत सिंहको जन्मभूमि खटकड कलानमा आयोजना गरिएको छ ।
राज्यपाल बनवारीलाल परोहितले भगवन्त मानलाई पद तथा गोपनीयताको शपथ गराएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
भगवन्त मानले पञ्जाबी भाषामा भगवानको नाममा शपथ लिएका थिए । उनी प्रदेशको १७ औं मुख्यमन्त्री हुन्, अहिले उनले मात्रै शपथ लिएका हुन् । अन्य मन्त्रीलाई शपथ ग्रहण गराइएको छैन ।
उक्त अवसरमा खटकर कलानमा ठूलो संख्यामा मानिसहरु पुगेका थिए । नयाँ मुख्यमन्त्रीको अपिलअनुसार धेरैले पहेँलो पगरी र पहेँलो दुपट्टा लगाएका थिए । मुख्यमन्त्री मानले भगत सिंहको पहेँलो पगरीको स्मरणस्वरूप यस्तो अपिल गरेका थिए । उनी आफैं पनि पहेंलो पगरी पहिरिएर शपथग्रहण समारोहमा उपस्थित थिए ।
कार्यक्रममा कोही पनि विशिष्ट अधिकारीहरद्याई निमन्त्रणा नगरिएको खबर छ । तर, समारोहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भने उपस्थित थिए ।
पञ्जाब विधानसभा चुनावमा आम आदमी पार्टीले पूर्ण बहुमत ल्याएको छ । मार्च १० मा आएको नतिजामा पार्टीले पञ्जाबमा ११७ सिटमध्ये ९२ सिट जितेको थियो। त्यस्तै, कांग्रेसले १८, भाजपाले २ र अकाली दलले ३ सिट पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्