सिर्जना सिंहबारे स्थापितको टिप्पणी : इन्टरभ्यू दिने पनि तागत छैन, गगन थापाले सिकाएको बोलेर हुन्छ ?

काठमाडौं । काठमाडौं महानगरमा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले नेपाली कांग्रेसकी प्रत्याशी सिर्जना सिंहसँग काठमाडौंको नेतृत्व गर्न योग्यता नभएको टिप्पणी गरेका छन् ।

सार्वजनिक मञ्चमा बोल्न समेत अरूको सहारा लिनुपर्ने व्यक्तिले काठमाडौं हाँक्न नसक्ने उनले बताए ।

आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै स्थापितले कांग्रेस उम्मेदवार सिंहसँग कुनै नीति र दर्शन नभएको टिप्पणी गरे ।

उनले भने, ‘नीति–कार्यक्रम केही पनि छैन । काठमाडौं कस्तो छ, यसलाई कसरी रूपान्तरण गर्ने भुतिभाङ केही थाहा छैन । अनि भन्छ भने पहिले भान्सा सम्हालेँ, अब काठमाडौं सम्हाल्छु । यस्तो पनि नारा हुन्छ रु यस्तो पनि कार्यक्रम हुन्छ ?’

स्थापितले सिर्जनालाई सार्वजनिक मञ्चमा उभिएर बोल्न चुनौती दिए ।

‘सिर्जना सिंह उम्मेदवार हो भने एउटा मञ्चमा आउने तागत देखाउनु परेन ? त्यति तागत नभएको महिलाले सहर हाँक्छु भन्ने ? सिंगै बहिष्कार गर्नुपर्छ । एक भोट पनि हाल्नु हुँदैन ।’

आफूले १०० वटा इन्टरभ्यू दिइसक्दा सिंहले एउटा पनि दिन नसकेको स्थापितको भनाइ थियो ।

‘उसले बोल्न सक्दैन अनि कसले बोल्छ भन्दा गगन थापा बोल्न आउँछ । त्यसो भए उ आफैँ उम्मेदवार भएर आउनुपर्थ्यो नि मेयर हुन । मैले खसी खोइ भनेपछि सकियो । हिसाब बुझाउन आउँदैन,’ स्थापितले भने ।
उनले सिर्जनालाई भाषण गर्न समेत गगनले सिकाउने गरेको आरोप लगाए ।

‘पछाडि बस्ने सिर्जना सिंह, यता बस्ने उ । नाटकमा नाटकमा डाइलग बिर्सिन्छ कि भनेर यताबाट कराइरहेको हुन्छ नि । हो, त्यस्तै । यस्तो मान्छेले कसरी मुलुक बनाउँछ ?’

१८,बैशाख.२०७९,आईतवार १८:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्