परिणाममुखी काम गरेको विगतको बलमा चुनाव जित्छु : मोहनमाया

काठमाडौ । काठमाडौ यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेले हालकी उपमेयर मोहनमाया ढकाललाई उम्मेदवार बनाएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवार उपेन्द्र खड्काविरुद्ध एमालेले ०७४ का उपमेयर ढकाललाई मेयरको उम्मेदवार बनाएको हो ।

०७४ को स्थानिय चुनावमा मेयरमा काँग्रेसले जित्दा उपमेयरमा ढकालले सर्वाधिक मत ल्यायर विजयी भएकी थिइन् । उनले गठबन्धनका उम्मेदवार आफ्नो प्रतिस्पर्धी नै नभएको दावी गर्दै आएकी छिन् ।

मेयर जितेर राजधानी उपत्यकालाई देशकै नमुना सहर बनाउन लागि पर्ने बताउने ढकालसँग अनलाइनखबरकर्मी यज्ञ खत्रीले गरेको कुराकानी :

उपमेयर हुँदा के गर्न बाँकी थियो र मेयरमा उम्मेदवारी दिनुभयो ?

अघिल्लो कार्यकालमा शुरु गरेका थुप्रै योजनाहरु पुरा गर्नु छ । सार्वजानिक महत्व राख्ने पुर्वाधार र सामाजिक क्षेत्रका कामहरु अन्य अभियानका योजनाहरु पनि पूरा हुन् सकेका छैनन् । ती योजना पूरा गर्नु छ ।

उपमेयर भएर काम गरिरहँदा स्थानिय तहलाई नजिकबाट बुझेको, कानुनहरू बन्दै गर्दा प्रत्यक्ष सहभागिता रहेको र त्यसको नेतृत्व गरेको अनुभव छ । आगामी पाँच वर्ष नगर प्रमुख भएर काम गर्न पाएँ भने हिजोका अपुरा योजना पूरा गर्ने र थप काम गर्ने आत्मविश्वासका साथ मेरो उम्मेदवारी हो । मेरो प्रतिवद्धता पत्रमा पनि गर्न सकिने योजनामात्रै समावेश गरिएको छ । प्राक्टिकल योजनाहरू छन् । एउटा सोच छ, लक्ष छ । त्यस्लाई पूरा गर्नु छ ।

भौतिक पूर्वाधार निर्माणमा ५० प्रतिशत काम गरेका छौं । त्यस्लाई पूरा गर्नु छ । मुख्य बजार व्यवस्थापन, हटलाइनलगायतका थुप्रै योजनाहरु निर्माणाधीन छन् । सुरु भएका पूरा हुन नसकेका योजनाहरूलाई पूरा गर्न पनि मेरो उम्मेदवारी रहेको छ ।

वीरेन्द्रनगरमा तपाईंको मुख्य पाँच प्राथमिकता के-के हुन् ?

पुर्वाधार तर्फ सहरी विकास मोडेल अगाडि बढाउनका लागी नगर विकास प्राधिकरण गठन गर्नेछु । यो प्रदेश राजधानीको नगरपालिको हो । यसको क्षेत्र वृहत छ । सहरको योजनावद्ध ढंगले विकास गर्न र आवश्यकता पहिचान गरी योजना कार्यन्वयन गर्न प्राधिकरण आवश्यक छ । नगरको निर्माणाधीन चक्रपथको काम पूरा गर्छु । भेरी लिफ्टिङ्ग खानेपानी योजना तीन वर्षभित्र सम्पन्न गरी नगरवासीलाई स्वच्छ, सफा पिउने पानि उपलब्ध गराउँछौं । नगरको सुकुमबासी समस्या समधान गर्नुका साथै अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउँछौं । सामाजिक न्यायको क्षेत्रमा, नगरलाई शिक्षा तथा स्वास्थ्यको हब बनाउँने । कोभिडले सिकायको राम्रो पाठ प्रत्येक वडा स्वास्थ्य चौकीलाई सुविद्या सम्पनन बनाउँनुका साथै विशेषज्ञ सेवा प्रदान गर्छाैं ।

विभिन्न अभियानहरू सञ्चालन गर्छाैं । जस्तै लागुऔषध दुर्वेसनीबाट युवा बालबालिकालाई बाहिरल्याउने, योग ध्यन, महिलाको पाठेघर स्कृनिङ्ग क्याम्प सञ्चालन गछौं । थारु समुदायको सिकलसेल एनिमियाँ निधान गर्ने र वीरेन्द्रनगरमा बन्दै गरेका प्रत्येक योजनाहरुको डीपीआर गर्ने र योजनामा कम्तिमा पाँच प्रतिसत रकम वातावरणीय सुरक्षाका लागि लगानि गर्ने योजना रहेको छ ।

तपाईं मेयरमा निर्वाचित हुनुभयो भने पाँच वर्षपछि वीरेन्द्रनगरवासीले कस्तो परिवर्तन पाउँछन् त ?

अवको पाँच वर्षमा वीरेन्द्रनगर नगरपालिकामा पर्याप्त खानेपानी हुनेछ । चक्रपथ निर्माण पुरा भएको हुनेछ । सहरी सरसफाई योजना अन्तर्गत ल्यान्डफिल्ड साइट निर्माण भएको हुनेछ । प्यानिङ्ग क्षेत्रका सबै सड्क कालोपत्रे भै सकेका हुनेछन भने रत्न राजमार्गदेखि तल्लो क्षेत्रको बस्ती पूर्ण व्यवस्थित हुनेछ । पर्यटकीय हिसावले काँक्रेविहार, बुलबुले, रानीघाट, गढी, जरबुटा र देउतीबज्यै क्षेत्रमा आर्थिक अगिबिधीले पनि फड्को मारेको हुनेछ । देखिने र अनुभुति हुने गरी काम हुनेछ ।

कार्यकर्ताहरूले भोट दिन्छन् नै होला, पार्टी बाहिरकाहरूले तपाईंलाई किन मत दिने ?

समग्र नगरवासीलाई मेरो अनुरोध छ । म उपप्रमुख हुँदा जुन जिम्मेवारी पूरा गरेको छु, त्यो सबैले मन पराइदिनुभएको छ । उठेका प्रश्नहरुको जवाफ दिने गरी उपस्थित भएकी छु । नगरपालिकाको सुशासन कायम गर्नका लागि, विकासमा पारदर्शिता ल्याउनका लागी, जिम्मेवार जनप्रतिनिधिका रुपमा प्रस्तुत हुनेछु । नगरको विकास र संमृद्धिका लागि मलाई मतदान गर्नु हुनेछ । कोरोना महामारीमा लामो समय मैले कार्यवहाक नगर प्रमुख भएर सम्हालेको थिएँ । जस्ले गर्दा पनि मलाई भोटदिएर जिताउँनु हुनेछ भन्नेमा म विश्वस्त छु ।

पार्टी फुटेको छ । एकातर्फ गठबन्धन छ, अर्कातर्फ एमाले एक्लै छ ? यस्तो अवस्थामा कसरी जित्नुहुन्छ ?

वीरेन्द्रनगरमा पार्टी फुटको असर शून्य छ । हामीबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीले एमालेलाई असर गर्दैन । विभाजनपछि पनि एमाले बलियो छ ।
जहाँसम्म पाँच दलको गठबन्धनको कुरा छ, त्यसले पनि केही फरक पार्दैन । हाम्रो पार्टी पहिलेभन्दा अहिले थप व्यवस्थित ढंगले अगाडि बढेको छ । हरेक ठाउँमा कमिटीहरू व्यवस्थित तरिकाले अगाडि बढेका छन् । योजनावद्ध ढंगले हामी निर्वाचनमा होमिएका छौं ।

अर्को कुरा, दलीय व्यवस्थामा गठबन्धनको त्यस्तो आकर्षण देखिएको छैन् । सचेत मतदाता हुनुहुन्छ । उहाँहरूले आफ्नो मताधिकार प्रयोग गरेर पनि मलाई विजयी गराउनु हुनेछ भन्नेमा म विश्वस्त छु । बलियो पार्टी संगठन छ । परिणाममुखी काम गरेको विगत छ । जस्ले गर्दा पनि मेरो जित सुनिश्चित छ ।

तपाईंको पार्टीभित्र मेयरको उम्मेवार बन्न धेरैजना लाइनमा हुनुहुन्थ्यो । अन्तत तपाईंले नै टिकट पाउँनु भयो कारण के रैछ ?

निर्वाचनको बेला स्वाभावत मेयरको उम्मेदवार बन्ने इच्छा आकाङक्षा सबैको हुन्छ । तर मसँग योभन्दा अघिल्लो कार्यकालमा काम गरिसकेको अनुभव छ । स्थानीय तहमा महिला र युवाको उपस्थिति सुनिश्चित गर्न, महिलाहरूले पनि नगर प्रमुख भएर काम गर्न सक्छन भन्ने पार्टीको अभियान छ त्यो अभियानको सम्बोधन पनि हुने भएकाले पार्टीले मलाई उम्मेदवार बनाएको हो ।

२६,बैशाख.२०७९,सोमबार १०:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्