दोलखाको झुले पसेका बाहिरी युवा पक्राउ, बुथ कब्जा गर्न ल्याइएको आरोप

काठमाडौं । निर्वाचन प्रभावित पार्न दोलखाको तामाकोसी गाउँपालिका–२ झुले प्रवेश गरेका बाहिरी जिल्लाका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यहीं वैशाख ३० गते हुने निर्वाचन प्रभावित बनाउन गैरमतदाता प्रवेश गरेको पाइएपछि स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

अपरिचित व्यक्तिहरु गाउँ प्रवेश गरेको सूचनाका आधारमा खोजी गर्ने क्रममा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको हो । दुईजना भने मोटरसाईकलमा फरार भएका छन् ।

निर्वाचन बिथोल्ने उद्देश्यका साथ उनीहरु ६ वटा मोटसाइकलमा प्रवेश गरेका थिए । गैरमतदाता एवम् शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको स्थानीयले बताएका छन् । उनीहरुले प्रयोग गरेको ६ वटा मोटसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीयका अनुसार मतदाता त्रसित पार्न र बुथ कब्जा गर्ने उद्देश्यले उनीहरु झुले प्रवेश गरेका हुन् । निर्वाचन बिथोल्न शंकास्पदरुपमा गाउँ प्रवेश गर्न लागेका युवालाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको दोलखाका प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलले जानकारी दिए ।

निर्वाचन बिथाल्न र उम्मेदवारलाई धम्की दिनका लागि बाहिरबाट गैरमतादाता युवा प्रवेश गर्न लागेको आशंकामा जिल्लाभरका नाकाहरुमा थप कडाइ गरेर जाँच र खानतलासी तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

तामाकोसी गाउँपालिकास्थित विभिन्न मतदान केन्द्रहरुमा यसअघिका निर्वाचनमा पनि गैरमतदाता प्रवेश गरी निर्वाचन प्रभावित पार्ने गरेका थिए ।

झुलेमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका प्रकाश पाख्रिनको नेतृत्वमा बाहिरबाट युवाहरु झिकाइएको स्थानीयको दाबी छ । त्यहाँ कांग्रेसबाटै अर्का बागी उम्मेदवार उठेपछि बुथ कब्जा गर्न यवाहरु ल्याइएको हुनसक्ने एमालेको आरोप छ ।

तामाकोशी गाउँपालिकाको झुले र जफेमा प्रायः हरेक चुनावमा बुथ कब्जा हुने गरेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेस नेता कुन्दन काफ्लेको नेतृत्वमा बुथ कब्जा भएपछि सोही गाउँपालिका अध्यक्षका एमाले उम्मेदवार ईश्वरचन्द्र पोखरेलसमेत भाग्नुपरेको थियो । तर निर्वाचन भने उनैले जितेका थिए ।

२६,बैशाख.२०७९,सोमबार १०:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्