गृहनगर जितेपछि रामचन्द्रले भने- प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुनेछ

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश र संघको निर्वाचनमा पनि चुनावी तालमेल गर्ने आधार बनेको बताएका छन् ।

गृहनगर तनहुँको व्यासमा कांग्रेसले जितेपछि आयोजित विजय सभालाई सम्बोधन गर्दै नेता पौडेलले स्थानीय निर्वाचनले गठबन्धन र तालमेलको अपरिहार्यता पुष्टि गरेको बताए ।

उनले संविधान र मुलुक जोगाउन गठबन्धन भएको भन्दै प्रदेश र संघको निर्वाचनमा पनि सहकार्य जरुरी रहेको बताए ।

‘संविधान र मुलुकलाई जोगाएर समृद्धि र विकास हासिल गर्न अझै केही समय संविधान पक्षधरबीच सहकार्य हुनुपर्छ । अब हुने प्रदेश र संघ निर्वाचनमा पनि तालमेल हुनुपर्छ’, पौडेलले भने ।

उनले तनहुँका जनताले कांग्रेसलाई जिताएर लोकतन्त्र, संविधान र विकासको पक्षमा आफूलाई उभ्याएको समेत बताए । पौडेलले निर्वाचित जनप्रतिनिधिहरुलाई शासक नभई सेवकका रुपमा काम गर्न आग्रह समेत गरेका छन् ।

व्यासनगरको प्रमुखमा कांग्रेसका बैकुण्ठप्रसाद न्यौपाने विजयी भएका छन् । उनीविरुद्ध पूर्व कांग्रेस नेता गोविन्दराज जोशीका छोराले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

९,जेष्ठ.२०७९,सोमबार १४:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्