निजगढ विमानस्थल निर्माण कार्य रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । बाराको निजगढमा निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोक्न माग गर्दै राजधानी काठमाडौंमा प्रदर्शन भएको छ । प्रदर्शनमार्फत सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै निर्माणकार्य रोक्न माग गरिएको छ ।

टांगियाबस्ती सेवा समाज काठमाडौं र नेपाल पर्यावरण संरक्षण तथा सम्वद्र्धन संघले संयुक्तरुपमा प्रदर्शन गरिरहेका छन् । चर्कोरुपमा नाराबाजीसहित हातहातमा प्लेकार्ड बोकेर निस्किएको प्रदर्शन माइतीघरबाट निस्किएर नयाँ बानेश्वर पुगेको थियो ।

प्रदर्शमा सर्वोच्चको फैसला कार्यान्वयन, टांगियाबासीलाई जग्गा नापजाँच गरि लालपूर्जा वितरण, टांगियाबस्ती विकासका पूर्वाधार निर्माण गरी मूलधारमा ल्याउन, वन संरक्षण तथा सम्वद्र्धनको दिगो प्रयास लगायतका माग गरिएका छन् ।

सर्वोच्च अदालतको जेठ १२ गतेको फैसलाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निर्णयहरू बदर गरिदिएको थियो ।

न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वर खतिवडा, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल चाहिने भए अन्यत्र खोज्न आदेशसमेत दिएको थियो ।

२१,जेष्ठ.२०७९,शनिबार १३:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्