डिस्चार्ज भइन् विमला वली

रुपन्देही । लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला वली बिहीबार डिस्चार्ज भएकी छन् ।

मंगलबार राति करिब १२ बजे बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गराइएकी वली बिहीबार डिस्चार्ज भएकी हुन् । दाङमा वाईसीएल नेता एकराज बस्नेतको घर पुगेर एकराज आफ्नो प्रेमी भएको भन्दै श्रीमती र छोरी कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी वली मुख्यमन्त्री कुलप्रसाद केसीको दबाबमा बुटवल ल्याइएकी थिइन् ।

सोही दिन उनलाई अस्पतालमा भर्ना गरिएकोमा अवस्था स्थिर रहेकोले डिस्चार्ज गरिएको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी दिएका छन् । पछिल्लो समय स्वास्थ्य अवस्था स्थिर रहेकोले आराम र औषधि सेवन गर्नेगरी डिस्चार्ज गरिएको उनले जानकारी दिए । वली यतिबेला बुटवलस्थित निवासमा बसेको उनी निकट स्रोतले जनाएको छ ।

वलीका कारणले बुधबार एमालेले सदन रोक्ने सुइँको पाएर अस्पताल भर्ना गराइएको आरोप लगाउँदै सामाजिक सञ्जालमा समेत टिप्पणी बढेको छ । एमालेले पनि बुधबार सरकारको जवाफ माग गर्दै पहिलो चरणमा सदन रोकेपछि सरकारको जवाफ आएपछि बजेट प्रस्तुत भएको थियो । एमाले

वलीको हर्कत छानबिन गर्न सरकारले सन्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्य छानविन समिति बनाएको छ । समितिमा मन्त्री रमा घर्ती र महान्याधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य छन् ।

सरकारमै सहभागी मन्त्रीले गरेको गल्तीको छानविन गर्न उही सरकारमै सम्मिलित व्यक्तिहरु रहेको छानविन समितिले यथार्थ विवरण दिन नसक्ने भन्दै सरकारको आलोचना भएको छ ।

शान्ति समाजका अध्यक्ष गोविन्द खनालले यो छानविन समितिले ल्याएको विवरणमा आमनागरिकले विश्वास नगर्ने भएकाले संसदीय समिति नै गठन गर्ने वा सरकार बाहिरका व्यक्ति रहेको समित गठन गर्नुपर्ने माग गरेका छन् ।

‘घटनामा एकराजको श्रीमती र छोरी अन्यायमा परेको प्रारम्भिक विवरणमा देखिन्छ, छानबिनमा सरकारी टोली रहेर विश्वास हुँदैन, संसदीय वा नागरिकस्तरीय छानबिन टोली बनाउनुपर्दछ’, खनालले भने ।

२,असार.२०७९,बिहीबार १८:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्