रविको दल दर्ता रोक्न अर्को उजुरी, ‘स्वतन्त्र’ शब्दमा आपत्ति

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ विरुद्ध निर्वाचन आयोगमा अर्को पनि उजुरी परेको छ ।

विभिन्न ठाउँबाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेको भन्दै केही व्यक्तिले ‘स्वतन्त्र’ शब्दमा आपत्ति जनाउँदै दल दर्ता रोक्न मागसहित आयोगमा उजुरी दिएका हुन् ।

‘स्वतन्त्र शब्दको आफैँमा महत्व रहेको र दलीय भीडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा हामी स्वतन्त्र उम्मेदवारहरूलाई अत्यन्त असहज परिस्थितिको निर्माण हुनेछ’, उजुरीमा भनिएको छ ।

यसले जनतामा भ्रम र अन्योल उत्पन्न गरी स्वतन्त्र शब्दको अर्थमै अपव्याख्या हुने भन्दै विश्लेषण गरेर मात्र निर्णय लिन आयोगलाई अनुरोध गरिएको छ ।

उजुरीमा मनोज पण्डित, राजकुमार बजगाईँ, पुष्कर शाहलगायतले हस्ताक्षर गरेका छन् ।

आजै आयोगसमक्ष ‘स्वतन्त्र उम्मेदवारी अभियान’ नामको लेटरहेड प्रयोग गर्दै डम्बर साहुले पनि पार्टीको नामबाट स्वतन्त्र शब्द हटाएर अन्य शब्द प्रयोग गर्न माग राख्दै उजुरी दिएका थिए ।

८,असार.२०७९,बुधबार १४:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्