म्याद सकिएका औषधिमा मिति थपेर बेच्ने तीनजना पक्राउ

रुपन्देही । म्याद सकिएका औषधिमा नयाँ मूल्य र मिति राखेर बिक्री वितरण गरेको आरोपमा बुटवलमा तीन जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बैतडीको नागार्जुन गाउँपालिका वडा नं २ का २८ वर्षीय प्रकाश भण्डारी, वडा नं ३ का २३ वर्षीय महेश भण्डारी र दशरथचन्द नगरपालिका– ११ का २६ वर्षीय हरिश भण्डारी पक्राउ परेको जानकारी दिए ।

उनीहरुलाई बुटवल उपमहानगरपालिका– ७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रुपमा औषधि तथा पोषणयुक्त सामग्रीको गोदाम गरेर नयाँ मूल्य राखी बिक्री वितरण गरेको आरोपमा पक्राउ गरिएको थियो ।

पक्राउ परेकाहरुउपर सार्वजनिक हित स्वास्थ्य सुरक्षा र नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट २ सय कार्टुन विभिन्न प्रकारका प्रशाधन (औषधि) तथा पोषणयुक्त सामग्रीहरु र एकथान प्रिन्टिङ मेसिन बरामद गरेको छ ।

८,असार.२०७९,बुधबार १६:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्