मधेसको कृषि मन्त्रालयमा किसानले लगाए ताला, माग पूरा नभएसम्म धर्ना दिने

जनकपुरधाम । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरुले तालाबन्दी गर्दै आन्दोलन थालेका छन् ।

शीत भण्डारको रकम भुक्तानी दिनुपर्ने, समयमा मलखाद र बीउबिजन उपलब्ध गराउनुपर्ने, प्राकृतिक विपद्का कारण किसानलाई भएको क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर किसानहरु आन्दोलित भएका हुन् । मन्त्रालयमा ताला लगाएर किसानहरु धर्नामा बसेका छन् ।

प्रदेशका विभिन्न जिल्लाबाट आएका कृषक समूह र सहकारीमा आवद्ध किसानहरु आन्दोलन गर्न कृषि मन्त्रालय आएका हुन् । जसपाका नेतासमेत रहेका किसान शेषनारायण यादवले सरकारले सम्झौता गरेको र शीत भण्डार निर्माण गर्दा भुक्तानी नदिएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको बताए ।

उनका अनुसार प्रदेश सरकारले २०७६ जेठ २९ गते शीतभण्डार निर्माण गर्न कृषक समूहसँग सम्झौता गरेको थियो । शीतभण्डार निर्माण भइसके पनि सरकारले भुक्तानी दिन मानेको छैन ।

शीतभण्डारका लागि तीन वटा समूहको चार करोडभन्दा बढी रकम भुक्तानी हुन बाँकी रहेको बताइएको छ । यो विषय सांसदहरुले सदनमा समेत पटक–पटक उठाइसकेका छन् ।

१६,असार.२०७९,बिहीबार १६:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्