बहुमतले पारित भयो बागमतीको बजेट

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । दशौ‌ अधिवेशनअन्तर्गत बजेटमा छलफल तथा प्रश्नोत्तरको चरण सकिएसँगै आज भएको बैठकको बहुमतले बजेट पारित गरेको हो ।

बजेटमाथि प्रदेशसभामा तीन दिनसम्म छलफल गरिएको थियो । बुधबारको बैठकमा बजेटमाथि उठेका प्रश्नको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जवाफ दिएका थिए ।

सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले असार १ गते ७० अर्ब ९३ करोड ९२ लाखको बजेट प्रस्तुत गरेका थिए । प्रदेश सरकारले आगामी आवका लागि चालूतर्फ १९ अर्ब २ करोड, पूँजीगततर्फ ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब र वित्तीय व्यवस्थापनतर्फ २ अर्ब बजेट विनियोजन गरेको छ ।

चालू आर्थिक वर्ष ०७८/०७९ मा सरकारले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको थियो । बागमतीमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाबीचको गठबन्धन सरकार छ ।

१६,असार.२०७९,बिहीबार १६:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्