नेपाली महिला फुटबलरको भोक- अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो उपाधि

काठमाडौं । सन् २०१० मा आयोजना भएको पहिलो दक्षिण एसियाली फुटबल महासंघ- साफ महिला च्याम्पियनसिपमा नेपाल र भारत उपाधिका सशक्त दावेदार थिए।

अन्य टोलीको स्तर यी दुईको तुलनामा निकै तल थियो । १२ वर्षसम्म केही फेरिएन । जस्तो कि भारत यसबीचमा आयोजित पाँचै संस्करणको विजेता बन्यो। नेपाल पाँचमध्ये चार संस्करणको फाइनलसम्म पुगेको थियो । सन् २०१६ मा सेमिफाइनलबाट बाहिरिएको नेपाललाई उक्त संस्करणमा भारतले नै पाखा लगाएको थियो ।

यसबीच भएका दक्षिण एसियाली खेलकुद-सागको महिला फुटबलका सबै स्वर्ण भारतले नै जित्यो । भारतले फाइनल जित्ने क्रममा तीनपटक नेपाललाई हराएको थियो ।

साफ महिला फुटबलको यस १२ वर्षमा केही फेरिएको छ । सन् २०१० मा भएको पहिलो साफ महिला च्याम्पियनसिपको समूहगत चरणमा भारतले भूटानलाई १८-० गोलले हराएको थियो । बंगलादेशमाथि ६-० गोलको जीत हात पारेको थियो । नेपालले पनि बंगलादेशलाई ३-० गोलले पराजित गरेको थियो । त्यतिबेला भारतले उपाधि जित्दा फाइनलमा नेपाललाई केवल १-० गोलको अन्तरले हराएको थियो ।

सन् २०१९ मा भएको पाँचौं संस्करणको समूह चरणमा नेपालले भूटानलाई ३-० र बंगलादेशले भूटानलाई २-० गोलले हराएको थियो । उपाधि भिडन्तमा भारतले नेपाललाई ३-१ गोलले हराएको थियो ।

यसबीचमा अन्य टोलीहरुले आफ्नो स्तर सुधार गर्दा भारत अझ बलियो बनेको छ । नेपाल भने त्यही १२ वर्षअघिको अवस्थामा रहेको तथ्यांकले देखाउँछ । तर, १२ वर्षमा खोलो पनि फर्किन्छ भने झैँ नेपालमा जारी छैटौं साफ महिला च्याम्पियनसिपमार्फत इतिहासमा ब्रेक लागेको छ।

भारतसँग यसअघिका हरेक हारको बदला लिँदै नेपाली महिला टोली फेरि एकपटक साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ। शुक्रबार भएको सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले हराएको हो ।

साफस्तरको सिनियर महिला फुटबल प्रतियोगितामा भारत पहिलोपटक फाइनल पुग्न असफल भएको छ । भारतको बहिगर्मनसँगै साफ महिला च्याम्पियनसिपले नयाँ विजेता पाउने निश्चित भएको छ । नेपालले सोमबार उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

बंगलादेश यसअघि सन् २०१६ मा आयोजित साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको थियो। त्यतिबेला भारतले उपाधि भिडन्तमा बंगलादेशलाई ३-१ गोलले हराएको थियो । यसपटक भारतलाई पराजित गर्ने टोलीमा बंगलादेश पनि रह्यो । समूह चरणको अन्तिम खेलमा बंगलादेशले भारतलाई ३-० गोलले पराजित गरेको थियो ।

साफ महिला च्याम्पियनसिप यस्तो प्रतियोगिता हो, जहाँ नेपालले भारतबाहेकका टोलीसँग अहिलेसम्म हार व्यहोरेको छैन । दक्षिण एसियाली खेलकुदमा पनि नेपाली महिला फुटबल टोलीले भारतबाहेक अन्य टोलीसँग हार त के बराबरीसमेत खेल्नु परेको छैन ।

फाइनलमा नयाँ प्रतिद्वन्द्वी पाएसँगै नेपाली टोलीका प्रशिक्षक कुमार थापा उत्साही छन् । उनीसामु घरबाट उपाधि उम्कन नदिने र नेपाललाई उपाधि जितेर अर्को ऐतिहासिक सफलता दिलाउने अवसर छ । नेपाल सन् २०१६ को साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिँदा प्रशिक्षक कुमार नै रहेका थिए । भारत प्रतिद्वन्द्वी भएकाले सेमिफाइनलबाटै भएको त्यो बहिर्गमनको खासै आलोचना भएन । तर, यसपटक भारतलाई हराउनुको सन्तुष्टि त छँदै छ, बंगलादेशसँग हार व्यहोर्ने ‘एक्सक्युज’ भने उनलाई हुने छैन ।

२,आश्विन.२०७९,आईतवार ११:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्