लगातार तीन वटा चुनाव हारेर पनि हरेस नखाएका कपिलवस्तुका सुधाखर पाण्डेयले चौथो पटक जिते

रुपन्देही । लगातार तीन वटा चुनाव हारेर पनि हरेस नखाएका कपिलवस्तुका सुधाखर पाण्डेयले चौथो पटकको प्रतिस्पर्धामा बल्ल जित निकालेका छन् ।

कानुनका विद्यार्थी रहेका सुधाखर २०६४ को पहिलो संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए तर तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का उम्मेदवार बृजेश कुमार गुप्तासँग पराजित भए ।

पहिलो संविधानसभाले संविधान बनाउन नसकेपछि २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा पुनः उनी सोही क्षेत्रबाट उम्मेदवार बने । पुरानै प्रतिस्पर्धी गुप्तासंग पाण्डेय झिनो मतान्तरले पराजित भएर दोस्रो पटक पनि जीत निकाल्न सकेनन् ।

नेता पाण्डेयको हार यतिमा मात्र रोकिएन् । पहिले दुई पटक संघमा प्रतिस्पर्धा गरेका उनी २०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेदवार बनेर चुनावमा जित्ने प्रयास गरेपनि नेकपा (एमाले) को समर्थनमा स्वतन्त्र उम्मेदार बनेका धर्मबहादुर लाल श्रीवास्तवसंग तेस्रो पटक पराजित भए ।

नेपाली कांग्रेस कपिलवस्तुको सभापति बनेर काम गरिसकेका पाण्डेय लगातार तीन पटक चुनाव हारेर पनि प्रतिस्पर्धामा जान रोकिएनन् । पाण्डेले पार्टीको १४ औं महाधिवेशनमा यसअघिको गुट नै परिवर्तन गरेर अगाडि गएका थिए ।

लामो समय शेरबहादुर देउवा इतर समूहमा सक्रिय रहेका पाण्डेय १४ औं महाधिवेशनमा देउवा समूहमा खुलेरै लागे । यही समूहबाट लुम्बिनी प्रदेशको सह–महामन्त्रीमा चुनाव लडेपनि जीत निकाल्न सकेनन् ।

कपिलवस्तु क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचन जितेका पार्टीको प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य इतर समूहमा रहेपनि उनी संस्थापन समूहमै छन् । यो क्षेत्रबाट दुई जनाले निर्वाचन जितेका हुन् ।

प्रदेश सभामा बाम–लोकतान्त्रिक गठबन्धनबाट मंसिर ४ को निर्वाचनमा साझा उम्मेदवार बनेका पाण्डेयले निर्वाचनमा पहिलो जित निकालेका छन् । उनले निवर्तमान सांसदसमेत रहेका लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री धर्मबहादुरलाल श्रीवास्तवलाई पराजित गरेर पहिलो पटक सांसद बन्ने अवसर पाएका छन् ।

पाण्डेयले १४ हजार १८५ मत पाउँदा श्रीवास्तवले १३ हजार २९४ मत पाएका छन् । श्रीवास्तव ०७४ सालको निर्वाचनमा एमालेको चुनाव चिन्हबाट स्वतन्त्र रुपमा चुनाव लडेपनि केही समयअघि एमाले प्रवेश गरेर अहिले सोही पार्टीबाट चुनाव लडेका थिए । यसअघि लगातार सांसद जितेका बृजेशकुमार गुप्तासँगै श्रीवास्तव पनि एमालेमा आएपनि यो पटक दुवैले जीत हात पार्न सकेनन् ।

१५,मंसिर.२०७९,बिहीबार ०९:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्