मधेश प्रदेशका नवनिर्वाचित १०४ सांसदले पद तथा गोपनीयताको शपथ लिए, माओवादीका दुई जनाको रोकियो

जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित १०४ सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य गोबिन्द न्यौपानेले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

नेकपा माओवादी केन्द्रका २ सांसदले शपथ लिनबाट बंचित भएका छन् । समानुपातिकतर्फ निर्वाचित सप्तरीकी माला कर्ण र मो. रजी हैदरले शपथग्रहण गर्न पाएनन् ।

प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले अदालतको आदेशका कारण कर्ण र हैदरलाई आज शपथग्रहण लिन नपाएको बताए । स्रोतका अनुसार माओवादीका समानुपातिक (नाम नखुलेको) उम्मेदवारले नै आफू निर्वाचित हुनुपर्ने भन्दै रिट दायर गरेका थिए ।

५३ सांसदले नेपाली र ४९ सांसदले मातृभाषामा शपथ लिएका छन् । बज्जिकामा १३, मैथिलीमा ११ र भोजपुरीमा ७ सांसदले शपथ लिए । राजकुमार लेखी र राजेन्द्रप्रसाद चौधरीले थारु भाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यस्तै, मगही र हिन्दी भाषामा २/२ सांसदले शपथ लिएका छन् । एक मात्र सांसद विमला अन्सारी भने उर्दु भाषामा शपथ लिएकी छन् ।

विवादित मधेशी भाषामा जनमतका १२ सांसदले शपथ लिएका छन् । तर सोही पार्टीका सतिश सिंहले भने मैथली भाषामा शपथ लिए । नेकपा एमालेका सबै २३ सांसद नेपाली भाषा रोजे ।

१५,पुष.२०७९,शुक्रबार १५:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्