कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । प्रदेशसभाको शुक्रबार भएको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत मागेका थिए । उनलाई सत्तारूढ दलका २५ सांसदले विश्वासको मत दिएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिएका थिए । मुख्यमन्त्री शर्मालाई नेकपा माओवादी केन्द्रका १३ सांसद, एमालेका ९, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र एक-एक मतदान गरि शर्मालाई विश्वासकाे मत दिएका हुन् ।

बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री शर्माले कर्णालीमा वार्षिक दस हजार व्यक्तिलाई रोजगारी सृजना गर्ने दोहोर्‍याए । कर्णालीमा आर्थिक सुधार गर्न पहल गर्ने उनले सुनाए ।

कर्णालीमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कांग्रेसले केन्द्रमा विश्वासको मत दिए पनि प्रदेशमा नदिने बताए । विश्वासको मत दिने मन भए पनि सीट अगाडि विपक्षी दल लेखिएको हुँदा मत नदिने उनले बताए ।

यस्तै एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीलाई समृद्ध बनाउन पार्टीभन्दा पनि मनबाट सहयोगी भावना हुनुपर्ने बताए । कँडेलले मुख्यमन्त्री शर्मालाई एमालेले विश्वासको मत दिने र सँगसँगै अगाडि बढ्ने बताए ।

नेकपा माओवादी केन्द्रबाट प्रदेश सांसद विन्दमान बिष्टले कर्णालीको अवस्थालाई बोध गर्दै सबैले सामूहिक भावना एकीकृत गर्दै अगाडि बढ्नुपर्ने बताए ।

नेकपा एकीकृत समाजवादीकी सांसद कल्याणी खड्काले विश्वासको मत लिइसकेपछि समानुपातिक सिद्धान्तलाई आधार मानी अगाडि बढ्ने विश्वास गरेको बताइन् ।

माओवादी केन्द्रको संसदीय दलका नेता शर्मालाई प्रदेश प्रमुख तिलक परियारले पुस २७ गते मुख्यमन्त्री नियुक्त गरेका थिए । उनलाई नेकपा माओवादी, नेकपा एमाले, एकीकृत समाजवादी र राप्रपाले समर्थन गरेका थिए । शर्माले माघ ३ गते साँझ ५ बजे विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।

४० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्र १३, नेकपा एमालेका सभामुखसहित १०, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रका एक-एक सांसद छन् ।

६,माघ.२०७९,शुक्रबार १६:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्