लुम्बिनी साँस्कृतिक नगरपालिकालाई प्लास्टिक शून्य बनाउने अभियान सुरु

बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्लास्टिक शून्य पालिका बनाउने अभियान सुरु भएको छ ।

प्लास्टिकजन्य फोहोरले वातावरणमा नकारात्मक असर पर्नुका साथै लुम्बिनी भ्रमणमा आउने पर्यटकमा पनि नराम्रो छाप छाड्ने हुनाले नगरलाई सफा र स्वच्छ बनाउन अभियान सुरु गरेको नगरपालिकाले जनाएको छ ।

ग्रिनरी नेपाल गैर सरकारी संस्थासंगको सहकार्यमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले ६ महिनासम्म प्लास्टिक शून्य सरसफाइ अभियान सञ्चालन गर्ने छ ।

अभियानको उद्घाटन रुपन्देही ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले गरेका छन् । सो अवसरमा बोल्दै सांसद घिमिरेले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीय स्थल भएकाले यो ठाउँ स्वच्छ र सरसफाइयुक्त हुनुपर्ने बताए ।

‘देश विदेशका पर्यटक आउने थलो फोहोर र दुर्गन्धित हुनु लज्जाको विषय भएको हो’, उनले भने, ‘पोलिथिनजन्य फोहोरले एकातिर विदेशी पर्यटकमा लुम्बिनीबारे राम्रो सन्देश जान सकेको छैन । अर्कोतिर मानव स्वास्थ्य, पशु स्वास्थ्य, खेतीयोग्य जमिन, बालीनाली, वातावरण र पर्यावरणमा प्रतिकुल असर पारेको छ ।’

लुम्बिनी प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले पर्यटकलाई आकर्षित गर्न र उनीहरुको बसाइ लम्ब्याउन लुम्बिनी सफा र स्वच्छ हुनु पहिलो शर्त भएको बताए ।

लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. हृदयरत्न बज्राचार्यले पोलिथिनजन्य फोहोरले पर्यावरण र जलवायु परिवर्तनमा नकारात्मक असर परेकोले विद्यालयदेखि विश्वविद्यालय तहसम्म यसबारे जनचेतना फैलाउन आवश्यक रहेको बताए ।

नगरपालिकाका १३ वटै वडाका जनप्रतिनिधि, सामाजिक संघसंस्थालाई सहभागी गराई ६ महिनासम्म सरसफाइ अभियान सञ्चालन गरी नगरलाई प्लास्टिक शून्य बनाउने लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले बताइन् । अभियानका लागि लुम्बिनी सांस्कृतिक नगरपालिकाले १७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको हरिजनले बताइन् ।

ग्रिनरी नेपालका अध्यक्ष निपेश अधिकारीले अभियानमा आफ्नो संस्थाका २२ जना स्वयंसेवक दैनिकरुपमा फोहोर संकलन,फोहोर वर्गीकरण र फोहोर बिसर्जनमा खटिने बताए ।

१५,माघ.२०७९,आईतवार १२:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्