प्रधानमन्त्रीले भने, ‘चुनौतीपूर्ण परिस्थितिमा पनि लोकतन्त्रको सुदृढीकरण र संविधानको रक्षामा दृढ रहन्छु’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफू नेतृत्वको वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिका तीन प्राथमिकता निर्धारण गरी अगाडि बढ्न प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल टेलिभिजनको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा एवं प्रगतिशील कार्यान्वयन, चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको सुधार एवं जनसेवा र जनजीविकाका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन वर्तमान सरकारको प्रमुख कार्यभार भएको बताए।

उनले भने, ‘सरकारको यस कार्यभारलाई गम्भीरतापूर्वक ग्रहण गर्न, आम श्रोता र दर्शकसम्म व्यवस्थित रूपमा सम्प्रेषण गर्न म नेपाल टेलिभिजन परिवारको ध्यान आकृष्ट गर्दछु ।’

उनले सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताए।

‘पत्रकार र सबै प्रकारका सञ्चार माध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गरिनेछ । सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदङ्गा वा आतंकको बीमाको व्यवस्था गरिनेछ’ उनले भने, ‘श्रमजीवी पत्रकारका लागि निर्मित कानूनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचना हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गरिनेछ । यसका निम्ति सञ्चारमाध्यम र सञ्चार क्षेत्रमा क्रियाशील महानुभावहरू सकारात्मक र रचनात्मक सहयोग र सहकार्य रहनेछ भन्नेमा म पूर्णतः विश्वस्त छु ।’

१७,माघ.२०७९,मंगलवार १३:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्