नेकपा माओवादी केन्द्रका नेताहरुको सांगठनिक कार्यविभाजनको ठोस निर्णय लिने जिम्मा अध्यक्ष र उपाध्यक्षमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुको सांगठनिक कार्यविभाजनबारे ठोस निर्णय लिने जिम्मा अध्यक्ष र उपाध्यक्षहरुले पाएका छन् ।

मंगलबारको पदाधिकारी बैठकले कार्यदलले तयार पारेको प्रतिवदेनका आधारमा ठोस कार्यविभानजन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरालाई दिएको हो ।

१२ माघमा सुरु भएको स्थायी समितिको बैठकले महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवहरु रहेको कार्यदललाई कार्यविभाजनबारे प्रस्ताव ल्याउने जिम्मेवारी दिएको थियो ।

उक्त कार्यदलले नीतिगत विषय मात्रै राखेर प्रतिवदेन तयार पारेकाले त्यसबारे ठोस निर्णय लिने अधिकार अध्यक्ष र उपाध्यक्षलाई दिएको माओवादी केन्द्रका नेता पेशल खतिवडाले जानकारी दिए।

‘कार्यदलले नीतिगत कुराहरु राखेर रिपोर्ट पदाधिकारीमा पेश गरेको हो,’ उनले भने, ‘आजको पदाधिकारीको बैठकले त्यसलाई अलि अलि परिमार्जन गरेको छ। त्यसलाई ठोस गर्न चाहिँ पात्र, पात्रमा गएर गर्नुपर्ने रहेछ । त्यसको जिम्मा अध्यक्ष र उपाध्यक्षलाई दिइएको छ।’

अध्यक्ष र उपाध्यक्षहरुले बुधबार १२ बजे बस्ने पदाधिकारी बैठकमा ठोस प्रस्ताव लिएर आउने र त्यसपछि १ बजे बस्ने स्थायी समितिबाट त्यसलाई अनुमोदन गरिने बताइएको छ।

माओवादी केन्द्रका सचिव गणेश साहका अनुसार संगठन विस्तारबारे तीन महिने कार्यक्रम घोषणा गर्ने तयारी गरिएको छ। प्रदेशलाई बढी कार्यकारी बनाउने गरि सैद्दान्तिक र निर्देशनात्मक निर्णय स्थायी समितिबाट हुने र त्यसलाई संगठन विभागले कार्यन्वयनमा लैजाने उनले बताए।

१७,माघ.२०७९,मंगलवार १६:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्