राष्ट्रियसभा अध्यक्षले ‘सभामुख निवास’ नछाड्दा सभामुखलाई निवास पाउनै मुस्किल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालुवाटारस्थित ‘सभामुखको सरकारी निवास’ नछाडेपछि नवनियुक्त सभामुख देवराज घिमिरेको वासस्थान अझै तय हुन सकेको छैन ।

लामो समय देखी सभामुखले प्रयोग गर्दै आएको सरकारी निवासबाट तत्कालीन सभामुख कृष्णबहादुर महरा ‘हट्नु परे’ सँगै राष्ट्रियसभा अध्यक्ष तिमिल्सना सो भवनमा सरेका थिए ।

तर, अग्नि सापकोटा सभामुख चयन भएर आउँदा पनि पुरानो सभामुख निवासबाट तिमिल्सिना नहटेपछि सापकोटालाई लैनचौरमा नयाँ भवन खोजेर व्यवस्थापन गरिएको थियो । तर, अहिले सभामुख चयन भएर आएका घिमिरेले पुरानै सभामुख निवास खोजेर लैनचौर जान मानिरहेका छैनन्, जसका कारण सहरी विकास मन्त्रालयलाई सभामुखको नयाँ भवन चयन गर्न नै गार्हो भइरहेको छ ।

‘पुरानो सभामुख निवासबाट राष्ट्रिय सभा अध्यक्ष सर्न मान्नु हुन्न, लैनचौरमा सभामुखज्यूले जान्न भन्नु भा छ, अब नयाँ भवन कहाँ खोज्ने ? छलफलमा नै छौँ,’ सहरी विकास मन्त्रालयका एक उच्च अधिकारीले भने । यद्यपि, सभामुख घिमिरेलाई नयाँ वासस्थानको व्यवस्थापन भने चाँडै हुने मन्त्रालयले जनाएको छ ।

१८,माघ.२०७९,बुधबार ०८:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्