कला संस्कृति संरक्षण गर्न लुम्बिनीका तीन जिल्लामा लोकवार्ता सम्मेलन

रुपन्देही । लोकवार्ता परिषदले लुम्बिनीका तीन जिल्ला पाल्पा, गुल्मी र अर्घाखाँचीमा छानेर ११औं लोकवार्ता सम्मेलन सुरु गरेको छ । समुदायमा रहेका कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सम्मेलन सुरु गरिएको हो ।

भाषा, कला, साहित्य, संस्कृति र परम्परागत पद्धतिका विषयमा खोजबिन, संरक्षण, सम्बर्द्धन गर्न लोकवार्ता परिषद नेपालले यी जिल्लामा अभियान थालेको हो । फागुन ६ गते पाल्पाबाट सुरू भै गुल्मी हुँदै ११ गते अर्घाखाँचीमा कार्यक्रम सम्पन्न गरी यो सम्मेलन सकिनेछ । जसको तयारी प्रत्येक जिल्लामा लोक वार्ता समिति र साहित्यकारहरूले गरेका छन् ।

यो सम्मेलनका लागि फागुन ५ गते ३० जनाको साहित्यकार तथा संस्कृतिविद्को टोली काठमाडौंबाट आएको हो । यो अभियानमा हरेक जिल्लामा संस्कृति संरक्षणका लागि अभियान चलाइएको लुम्बिनी वांगमय प्रतिष्ठान केन्द्रीय अध्यक्ष ऋषि आजादले जानकारी दिए । तीनै जिल्लामा २ दिनका हिसाबले कार्यक्रम तय भएको छ ।

फागुन ६ गते पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा पाल्पा विषयक गोष्ठी पत्र प्रस्तुत र तानसेन भ्रमण, ७ गते रानीमहल, भैरव स्थान अवलोकन र गोष्ठीपत्र प्रस्तुति भएको छ ।

पाल्पामा प्रा. डा. माधवप्रसाद पोखरेलले संयोजन गरेका कार्यपत्र प्रस्तुति सत्रमा प्रा. डा. सावित्री मल्ल कक्षपतिले नेवार समुदायले मनाउने गथामुःग, झपेन्द्र जिसीले कडुवा गीत नृत्यः जीवन्त पाल्पाली संस्कृति एक झलक, कृष्णप्रसाद कोइरालाले रूरू क्षेत्र– एक प्रमुख धाार्मिक, पर्यटकीयस्थल, मन गैरेले तानसेनको ऐतिहासिक धरोहर अमरनारायण, रोहित ज्ञवालीले पाल्पाका ब्राह्मणको कुलायन पूजा परम्पराः यसको सांस्कृतिक तथा सामाजिक महत्वका सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

यस्तै मदन देउरालीले पाल्पामा भएका मन्दिर र मनाइने जात्रा, प्रा. डा. भवेश्वर पङ्गेनीले पाल्पा र यसको गौरव (पाल्पाको ऐतिहासिक तथा सांस्कृतिक महत्व), विष्णु घर्ती ‘भनभनेली’ ले गुल्मेली घर्ती÷भुजेलः ऐतिहासिक परिचय, सभ्यता र वर्तमान अवस्था र रुवि सत्याल बिडारीले सर्वहितकारी चूर्णको परिचय शीर्षकका कार्यपत्र प्रस्तुत गरेका छन् ।

सम्मेलनमा ६७ वटा कार्यपत्र प्रस्तुत हुने परिषद्का महासचिव प्रा.डा. ध्रुवप्रसाद भट्टराईले जानकारी दिए । स्थलगत अध्ययन गरेर त्यस ठाउँको लोककला लोकजीवन हेर्ने र अर्को वर्ष त्यसैलाई कार्यपत्र तयार पारेर किताब छाप्ने काम गरिएको छ । कला, संस्कृतिसहितको संरक्षण गर्दै मूर्त-अमूर्त कला, संस्कृतिको अध्ययन अवलोकन गर्दै कार्यपत्र प्रस्तुत गर्ने, प्रचारप्रसार गर्ने र त्यसलाई पुस्तकका रुपमा प्रकाशन गर्ने गरी सम्मेलन आयोजना गरिएको लोकवार्ता परिषद नेपालका अध्यक्ष प्राध्यापक डा. प्रेमकुमार खत्रीले बताए ।

‘राम्रा कुरा नयाँ पुस्तामा हस्तान्तरण गर्न, कला संस्कृतिको विकास गर्दै ज्ञान लिन र दिन चरणबद्ध रुपमा जिल्ला-जिल्लामा स्थलगत रुपमा अवलोकन गरी लोकवार्ता सम्मेलन गरिरहेका छौं, हाम्रा परम्परागत लोक-संस्कृति बचाउन र त्यसलाई अभिलेखीकरण गर्न सम्मेलन आयोजना गरेका हौं’, उनले भने ।

सम्मेलन पाल्पाको रानीमहल, अर्गली, रिडी हुँदै गुल्मीको रिडी, तम्घास र अर्घाखाँचीको सन्धिखर्कमा पुगेर फागुन ११ गते सम्पन्न हुने परिषद्का अध्यक्ष प्रा. डा. खत्रीले जानकारी दिए । नेपालका ७७ वटै जिल्ला तथा भारतको सिक्किमबाट प्रतिनिधिको सम्मेलनमा सहभागिता छ । वि.सं २०७१ मा संस्था स्थापना गरी लोकजीवन, लोक संस्कृति, लोक साहित्य, भाषा संरक्षण तथा जगेर्ना गर्दै आइरहेको छ । यस संस्थाले नेपालका करिब २२ जिल्लामा सम्मेलन आयोजना गरेको बताइएको छ ।

फागुन ८ गते गुल्मीको रिडी, श्रृङ्गा हुँदै तम्घासमा औपचारिक कार्यक्रम प्रस्तुत भएको छ भने ९ गते रेसुङ्गा अध्ययन अवलोकन भ्रमण, गोष्ठी पत्रलगायतका कार्यक्रम प्रस्तुत हुने आजादले जानकारी दिए ।

त्यसैगरी फागुन १० र ११ गते अर्घाखाँचीमा हुने कार्यक्रम सम्मेलन हुनेछ । १० गते ७ देखि १० बजेसम्म सन्धिखर्कका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन भ्रमण, ११ देखि १ बजेसम्म औपचारिक कार्यक्रम पाणिनि बहुमुखी क्याम्पसमा हुनेछ । सोही दिन दिउँसो २ बजेदेखि ५ बजेसम्म अर्घाखाँची विषयक गोष्ठी पत्र प्रस्तुत, ११ गते ७ बजे सुपा देउराली प्रस्थान, १० बजे खाना, १२ बजे देखि १ बजेसम्म पाणिनि तपोभूमि अवलोकन, गोष्ठीपत्र प्रस्तुत, ५ बजे पणेनाबाट सम्मेलन समापन गरी काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको छ ।

अर्घाखाँचीमा जिल्लामा गाइने भैली गीतको अध्ययनबारे डा. लक्ष्मी पोख्रेल, गुल्मी अर्घाखाँचीका प्रचलित लोक संगीतको तत्वगत विश्लेषणबारे डा. रामप्रसाद घिमिरे, सुपा देउरालीबारे अन्जु केसी, पाणिनि र उनको तपोभूमि पणेनाबारे संस्कृतविद् राजेन्द्रकुमार आचार्य, विनोदी शिक्षाबारे शिक्षाविद् उत्तरकुमार पराजुली, अर्घाखाँचीको भैरव नाचबारे चन्द्रकान्त आचार्य, अर्घाखाँची जिल्लाका केही परम्परागत घरेलु प्रयोगका सामग्रीहरूबारे प्रा. माधवराज चुँदालीले कार्यपत्र प्रस्तुत गर्ने संयोजक ज्ञानबहादुर क्षेत्रीले जानकारी दिए ।

गोष्ठीमा प्रस्तुत कार्यपत्रहरू लोकवार्ता परिषद नेपालले पुस्तकमा प्रकाशन गर्ने जनाइएको छ ।

९,फाल्गुन.२०७९,मंगलवार १३:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्