बक्यौताको कारण रोकियो नेपाल एयरलाइन्सको नयाँ उडान अनुमति, कुन एयरलाइन्सको कति बक्यौता बाकि ?

काठमाडौं । गुल्मीको रेसुंगा विमानस्थलमा नयाँ उडान अनुमति मागेको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई नियामक नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छैन।

बक्यौता रकम चुक्ता नगरेका कारण नेपाल एयरलाइन्सलाई अनुमति नदिएको प्राधिकरणले जनाएको छ।

यसअघि निगमले रेसुंगा विमानस्थलमा ‘प्रुभिङ’ उडानका लागि प्राधिकरणसँग अनुमति मागेको थियो। गत बुधबार नै ट्विनअटर जहाजले प्रुभिङ उडान गर्ने र त्यसपछि नियमित उडान गर्ने निगमको तयारी थियो। उडानका लागि निगमले रेसुंगा नगरपालिकासँग पनि सम्झौता गरिसकेको छ।

नियमित उडानको तयारीमा रहे पनि प्राधिकरणबाट अनुमति नपाएपछि तत्काल उडान नहुने भएको हो। निगमले विभिन्न विमानस्थलमा सेवा सञ्चालन गरेबापत ३० करोड ४१ लाख रूपैयाँ प्राधिकरणलाई बुझाउन बाँकी छ। बक्यौता रकम नतिरिकन नेपाल एयरलाइन्सलाई नयाँ उडान अनुमति नदिने प्राधिकरणको निर्णय रहेको एक कर्मचारीले बताए।

‘लामो समयदेखि प्राधिकरणलाई धेरै वायुसेवा कम्पनीहरूले बक्यौता बुझाएका छैनन्। अब त्यो रकम चुक्ता नभएसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि अनुमति नदिने निर्णय गरेका हौं,’ ती कर्मचारीले भने, ‘यसबारे प्राधिकरणले सबै कम्पनीलाई पत्र पनि पठाइसकेको छ।’

विभिन्न १९ वटा वायुसेवा कम्पनीले ४८ करोड ८५ लाख ८५ हजार ८२० रूपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।

कुन वायुसेवाले कति बक्यौता बुझाउन बाँकी? नेपाल एयरलाइन्सको बक्यौता ३० करोड ४० लाख ९८ हजार ६ सय रूपैयाँ छ।

गुण एयरलाइन्सको ४ करोड ४४ लाख २३ हजार रूपैयाँ बक्यौता छ। गत फागुन १ देखि गुणका सबै जहाज ग्राउन्डेड छन्।

त्यस्तै यती एयरलाइन्सको ३ करोड ३६ लाख ३७ हजार, सौर्य एयरलाइन्सको एक करोड ४८ लाख ७७ हजार, श्री एयरलाइन्सको ८६ लाख ७८ हजार १७९, सीता एयरको एक करोड ७१ लाख ६७ हजार, तारा एयरको ४८ लाख ३ हजार रूपैयाँ बक्यौता छ।

हेली एभरेष्टको ४१ लाख ११ हजार ४८४, फिस्टेल एयरको ३७ लाख ७९ हजार २१०, मनाङ एयरको २० लाख ४४ हजार ८२५, मुस्ताङ हेलिकप्टरको १३ लाख ७३ हजार, समिट हेलिकप्टरको ११ लाख ३२ हजार र हिमालय हेलिकप्टरको ६१ हजार रूपैयाँ बक्यौता छ।

त्यसैगरी सांग्रिला एयरको ५ लाख ५१ हजार, हेली एयरको ४ लाख ३१ हजार, मुस्ताङ एयरको १७ हजार ९११ बक्यौता छ। हाल बन्द रहेको नेकोन एयरलाइन्सको ४ करोड ७१ लाख १८ हजार, नेपाल एयरवेजको २ लाख १४ हजार र गोमा एयरको ६२ हजार ९९४ रूपैयाँ बक्यौता छ।

१८,फाल्गुन.२०७९,बिहीबार १७:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्