अख्तियारमा मुद्धा खेपिरहेका भण्डारी अहेव निमित्त रजिस्ट्रार नियुक्त, सचिब असन्तुष्ट

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत जनस्वास्थ्य निरीक्षक लीलानाथ भण्डारी नेपाल स्वास्थ्य व्यवसायी परिषद्को निमित्त रजिस्ट्रारमा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयबाट शुक्रबार नियुक्त भण्डारीले आज पदभार ग्रहण गरेका छन् ।

भण्डारी टेकु अस्पतालको इमर्जेन्सीमा अहेवका रुपमा कार्यरत थिए । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अवधिभर सरुवा, बढुवा र नियुक्तिमा रोक लगाउन जारी गरेको आचारसंहिताविपरीत उनलाई नियुक्त गरिएको हो ।

परिषद्मा मेडिकल डाक्टर, नर्स, फर्मासिस्ट र आयुर्वेदबाहेकका सबै स्वास्थ्य व्यवसायीहरूको दर्ता हुन्छ । ल्याब, जनरल मेडिकललगायतले परिषद्बाट लाइसेन्स नलिई काम गर्न पाउँदैनन् । भण्डारी नेकपा माओवादी केन्द्र निकट अखिल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय सहअध्यक्ष हुन् । स्वास्थ्य मन्त्रालय आफूसँगै राखेको मौकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रजिस्ट्रारमा भण्डारीलाई नियुक्त गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयले रजिस्टारमा नियुक्त गरेर पठाएको परिषद्का खरिदार तथा सूचना अधिकारी शीतल बस्नेतले जानकारी दिए । परिषद्को काम–कारबाही रोकिने भएकाले क्याबिनेटबाट निमित्त रजिस्टार नियुक्त गरिएको उनको भनाइ छ ।

भण्डारीले अहेवको पदमा कार्यरत रहँदै अध्ययन बिदा स्वीकृत नगराई हेल्थ असिस्टेन्ट पूरा गरेपछि सो मुद्दा अहिलेसम्म अख्तियारमा विचाराधीन छ । त्यसवेला उनको एक पद घटुवासमेत भएको थियो । उनी पाँचौं तहबाट चौथो तहमा घटुवा भएका थिए ।

स्वास्थ्य क्षेत्रभित्र निकै बदनाम भण्डारी कुनै बेला घुस कारोबारमा संलग्न भएको पाइएपछि स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा.गुणराज लोहनीले आफ्नो सचिवालयबाट निकालेका थिए । चिकित्सकहरुको सरुवामा घुस लिएको रकमसहित रंगेहात फेला पारेपछि डा.लोहनीले निलम्बन गर्ने तयारी गरेका थिए । तर, राजनीतिक आडमा जागीर जोगाउन सफल भए र अर्को कार्यालयमा पुगे ।

टेकु अस्पतालको इमर्जेन्सीमा कार्यरत भण्डारी कोभिडको समयमा सामग्री खरिदमा समेत भ्रष्टाचारमा मुछिएका थिए । अहिले सो मुद्दा अख्तियारमा छ ।

माओवादीले यस्ता भ्रष्ट व्यक्तिहरु सिफारिस गर्दा स्वास्थ्य व्यवसायी परिषद्को समेत गरिमामा आँच पुग्ने पदाधिकारी बताउँछन् । उनी नियुक्त भएकोमा काउन्सिलकै पदाधिकारीमात्र नभई स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुसमेत खुशी छैनन् ।

स्वास्थ्य मन्त्रालयका एक कर्मचारी राजनीतिक पहुँचको आधारमा भ्रष्टाचार मुद्दा खेपिरहेका व्यक्तिलाई नियुक्त गरिएको बताउँछन् ।

नाम नखुलाउने सर्तमा भन्छन्, ‘यो निर्णय गर्नुअघि उहाँको बारेमा सचिवज्यूलाई पनि थाहा थियो । तर, स्वास्थ्यमन्त्रीसमेत रहेका प्रधानमन्त्रीको निजी सचिवको आदेशमा उहाँलाई नियुक्त गरियो ।’

भ्रष्टाचार मुद्दा खेपेका र पदसमेत घटुवामा परेका उनी राजनीतिक पहुँचमा नै नियुक्ति लिन सफल भएको मन्त्रालयका एक कर्मचारीले बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूको निजी सचिवको दबाबमा नियुक्ति खानुभयो । सबैलाई थाहा छ, उहाँ कस्तो व्यक्ति हो भनेर । यसमा सचिवज्यूको पनि केही लागेन ।’

२१,फाल्गुन.२०७९,आईतवार २१:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्